६ करोडको भ्रष्टाचारमा फँसे गण्डकी प्रदेशका लेखा अधिकृत झलक पौडेल

काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढी रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी सम्पत्ति लुकाउने, स्रोत खुलाउन नसक्ने र अस्वाभाविक जीवनशैली अपनाएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गर्दै मुद्दा अघि बढाएको हो।
आयोगका अनुसार पौडेलले २०५४ साल माघ ८ गतेदेखि २०८० साल मंसिर १० गतेसम्मको सेवाअवधिमा वैधानिक रूपमा आर्जन गरेको सम्पत्ति ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ ६५ पैसा मात्र देखिएको छ। तर, सोही अवधिमा उनले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ ४७ पैसाको खर्च तथा लगानी गरेका छन्। यसअनुसार उनको कुल आम्दानीभन्दा ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसाले बढी सम्पत्ति आर्जन गरिएको देखिएको अख्तियारको दाबी छ।
पौडेलले आम्दानी स्रोतबिनाको सम्पत्ति विभिन्न शीर्षकमा खर्च गरेका छन्, जसमा घरजग्गा खरिद, निर्माण खर्च, शेयर खरिद, सवारीसाधन खरिद, बहुमूल्य धातु किनमेल, ऋण सापटी, शैक्षिक खर्च लगायत छन्। यस्तै, बैंक तथा सहकारी संस्थामा मुद्दती मौज्दात र बचत खातामा रहेको रकम समेत उनले देखाउन नसकेको अख्तियारको भनाइ छ।
आयोगले पौडेलले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको केही हिस्सा पत्नी हुमा कुमारी उपाध्यायको नाममा राखेको पुष्टि भएको उल्लेख गर्दै हुमा कुमारीलाई पनि प्रतिवादी बनाएको छ। उनीविरुद्ध उक्त सम्पत्ति जफत गर्न आवश्यक प्रक्रिया अघि बढाउन विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अख्तियारले पौडेलमाथि बिगो बराबरको जरिवाना, कैद सजाय र सम्पत्ति जफतको माग गर्दै भ्रष्टाचार निवारण ऐन २०१७ र हालको ऐन २०५९ का सम्बन्धित धारामा मुद्दा दायर गरेको हो। साथै, उनले आफ्नो बार्षिक सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएको, झुट्टा विवरण पेश गरेको पुष्टि भएको समेत आयोगले जनाएको छ।













