बाढीले झन्डै १ अर्ब ४ करोडको क्षति, विद्युत आयोजनासहित कृषियोग्य जमिन तहसनहस

२६ असार २०८२, बिहीबार १०:२४

काठमाडौँ ।  बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मङ्गलबार राति आएको भीषण बाढीले करिब १ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। अविरल वर्षासँगै कालुङखोलामा आएको बाढीले जलविद्युत आयोजना, कृषियोग्य जमिन, गोठ, घर, सडक र सिँचाइ कुलोलगायतका संरचनाहरूमा गम्भीर असर पुर्याएको हो।

स्थानीय कालुङखोला जलविद्युत आयोजना पूर्ण रूपमा बगाएको छ। आयोजनामार्फत आपूर्ति हुँदै आएको विद्युत सेवा अवरुद्ध भएपछि पैयुँथन्थाप क्षेत्रमा रहेका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन्। जलविद्युत आयोजनामात्रै करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

बाढीले पैदल आवागमनका लागि निर्माण गरिएको पुल समेत बगाएको छ। सो पुल निर्माणमा करिब ३५ लाख रुपैयाँ खर्च भएको थियो। त्यस्तै, केन्द्रीय प्रसारण लाइनअन्तर्गतको ट्रान्सफर्मरमा पनि क्षति पुगेपछि क्षेत्रको विद्युत आपूर्ति थप अवरुद्ध भएको छ।

बाढीले पैयुँथन्थाप क्षेत्रमा रहेको उपजाउ खेतीयोग्य जमिनसमेत पुरै बगरमा परिणत भएको छ। वार्षिक ८ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बालुवा र ढुङ्गाले भरिएर उत्पादन असम्भवजस्तै बनेको छ। यसले दीर्घकालीन रूपमा खाद्य सुरक्षामा असर पार्ने सम्भावना रहेको स्थानीय कृषकहरू बताउँछन्।

प्राकृतिक प्रकोपले बस्तीसमेत जोखिममा परेको छ। टेकबहादुर थापा, खड्गबहादुर थापा, कुलबहादुर थापा, केयर सिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको जनाइएको छ। टेकबहादुर र खड्गबहादुर थापाका दुईवटा गोठ पूर्ण रूपमा बगाउँदा गोठमा रहेको एक गोरुको मृत्यु भएको छ।

बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङतर्फ जाने ग्रामीण सडकसमेत अबरुद्ध बनाएको छ। साथै, पैयुँथन्थाप क्षेत्रमा रहेका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ। कुल क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्दा झन्डै १ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*