‘जेडीएस’ परियोजनाका लागि जापानले नेपाललाई दियाे ५३ कराेड ७० लाख अनुदान

२६ असार २०८२, बिहीबार १२:५८

काठमाडौं । जापान सरकारले नेपालको मानव संसाधन विकासका लागि ५३ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। ‘जापानिज ग्रान्ट एड फर ह्युमन रिसोर्स डिभलपमेन्ट स्कलरशिप (जेडीएस)’ परियोजना अन्तर्गत उक्त रकम नेपाल सरकारलाई प्रदान गरिनेछ।

बुधवार काठमाडौंस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपालका लागि जापानी राजदूत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

जेडीएस परियोजनाको माध्यमबाट नेपाल सरकारका युवा र आशाजनक सरकारी कर्मचारीहरूलाई जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन गर्न छात्रवृत्ति दिइन्छ। परियोजनाअन्तर्गत दुई वर्षे मास्टर डिग्री र तीन वर्षे डक्टरेट डिग्री अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिन्छ।

हालसम्म जापान सरकारले एक सय ८७ जना नेपाली सरकारी अधिकारीलाई छात्रवृत्तिका लागि स्वीकृत गरिसकेको छ। यसै सन्दर्भमा छनोट प्रक्रिया सफलतापूर्वक पार गरेका थप २२ जना सरकारी अधिकारीले सन् २०२५ को अगस्टमा जापानमा अध्ययन सुरु गर्नेछन्।

जेडीएस परियोजनाबाट अध्ययन गरेर फर्किएका पूर्वविद्यार्थीहरूले नेपालको सामाजिक–आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। तिनीहरू सरकारका विभिन्न निकायमा नेतृत्वदायी भूमिकामा रहेर योगदान पुर्‍याइरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*