सरकारको विकास खर्चको अवस्था दयनीय, चालु आवमा ५९% मात्रै बजेट खर्च

२६ असार २०८२, बिहीबार १४:०८

काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको बजेट खर्चको अवस्था दयनीय बनेको छ । असार २५ अर्थात बुधबार यस आवको बजेट खर्च गर्ने अन्तिम दिनसम्मको विवरण अनुसार सरकारले विकास बजेट ५९.१३ प्रतिशतसम्म मात्र खर्चिएको हो ।

सरकारको लक्ष्य एकातिर र नतिजा अर्कोतिर देखिएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको विकास बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर, सरकारले चालु आवमा लक्ष्यको ५९ दशमलव १३ अर्थात एक खर्ब ८६ अर्ब ६१ करोड रुपैयाँमात्र विकास बजेट खर्च गरेको छ ।

विकास बजेट खर्चमा सुस्त देखिएको सरकार कर्मचारी सेवा सुविधा खर्चमा निकै सक्रिय देखिएको छ । सरकारले यसमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ खर्चिने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षमा लिएको लक्ष्यको ८५ दशमलव ८२ प्रतिशतले नौ खर्ब ६४ अर्ब एक करोड रुपैयाँ खर्चिएको छ ।

सरकारको प्रमुख आम्दानीको रुपमा रहेको राजश्व पनि लक्ष्य अनुसार संकलन गर्न सरकार असफल देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । राजश्व चुहावट र सरकारको सक्रियताको कमिले चालु आर्थिक वर्षको असार २५ गते बुधबारसम्म ७७ दशमलव ३४ प्रतिशतमात्र राजश्व संकलन भएको छ । अर्थमन्त्रालयको विवरण अनुसार बुधबारसम्म १० खर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखा परीक्षकको कार्यालय अनुसार असार २५ गते चालु आर्थिक वर्षको वित्तीय कारोबार गर्ने अन्तिम दिन हो । सरकारले सञ्चालन गरेका विभिन्न सानादेखि ठूला योजनाहरुको भुक्तानी बुधबारसम्म मात्र भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*