इरान र प्यालेस्टाइनको पक्षमा १२ दलले भोलि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने

काठमाडौं । इरान र प्यालेस्टाइनमाथिको आक्रमण विरुद्ध भोलि असार २७ गते प्रदर्शनी मार्ग काठमाडौंमा दिउँसो साढे १ बजे १२ राजनीतिक दलले जुलुस प्रदर्शन गर्ने भएको छ।
यसअघि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विभिन्न दलहरूको बैठकले अमेरिकी र इजरायली आक्रमणको निन्दा गर्दै विरोधको रूपमा जुलुस प्रदर्शन गर्ने निर्णय गरेको थियो।
जुलुस प्रदर्शनमा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्यूनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी नेपाल, क्रान्तिकारी कम्यूनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, नेकपा (बहुमत) देशभक्त समाजवादी स्कूल र संवाद डबलीले भाग लिने बताइएको छ।
प्रदर्शनलाई माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपाका अध्यक्ष महिन्द्र राय यादव, राजमोका अध्यक्ष चित्रबहादुर केसी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, क्रान्तिकारी कम्यूनिष्टका नेता सीपी गजुरेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
जुलुस प्रदर्शनका लागि साम्राज्यवादी युद्ध बन्द गर, प्यालेष्टाइनीमाथिको जनसंहार बन्दर गर, इजराइली फासीवाद मूर्दावाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद, विश्व शान्ति कायम गर, इरानको सार्वभौमिकताको सम्मान गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, असंलग्न परराष्ट्र नीति पालन गर जस्ता नारा तय गरिएका छन्।













