सहमति पछि खुल्दै सुनचाँदी बजार, आन्दोलन स्थगित

२७ असार २०८२, शुक्रबार १०:३८

काठमाडौं । सरकारले आन्दोलनरत सुनचाँदी व्यवसायीहरूसँग ६ बुंदे सहमति गरेपछि देशभर २८ दिनदेखि बन्द रहेका सुनचाँदी पसल शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन्। अर्थ मन्त्रालयको पहलमा बिहीबार भएको छलफलपछि व्यवसायीहरूले आन्दोलन स्थगन गर्ने निर्णय गरेका हुन्।

बिहीबार अर्थ मन्त्रालयमा सहसचिवको नेतृत्वमा भएको छलफलमा सरकारका तर्फबाट कार्यदल गठन गरेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो। सोही आश्वासनपछि व्यवसायीहरू आन्दोलन स्थगन गर्न तयार भएका हुन्।

देशभरका सुनचाँदी पसल बन्द रहँदा व्यवसायीहरूले बजेटमार्फत लागू गरिएको २ प्रतिशत विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै आन्दोलन चालेका थिए।

अर्थ मन्त्रालयका सहसचिवसहित मन्त्रालयका अन्य अधिकारीहरू, नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा आन्दोलनरत व्यवसायीहरूको प्रतिनिधित्व रहेको बैठकमा कर नीतिबारे गहिरो छलफल भएको थियो। महासंघका अनुसार सरकारी प्रतिबद्धता र संवादको सकारात्मक वातावरण बनेपछि आन्दोलन रोक्ने निर्णय गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*