सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा १६ करोड भ्रष्टाचार, ६ जना विरुद्ध मुद्दा

२७ असार २०८२, शुक्रबार १४:१२

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत उच्च प्रविधिको उपकरण खरिदमा झण्डै १६ करोड भ्रष्टाचार गरेको भन्दै केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित ६ जनाविरुद्ध मु्द्दा दायर भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा सूचना प्रविधि केन्द्रले ‘हाइ कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदका लागि बोलपत्र आह्वान गर्दै झण्डै ३१ करोड रुपैयाँ बराबरको लागत अनुमान गरेको थियो। त्यहीअनुसार वल्र्ड डिस्ट्रीब्युसन नेपाल प्रालिको प्रस्ताव स्वीकृत गरी सम्झौता गरिएको थियो।

तर सम्झौतामा उल्लेख गरिएका प्राविधिक मापदण्ड अनुसारको उपकरण केन्द्रमा नआएको पाइएको छ। बोलपत्रमा उपकरणमा २.४ गीगाहर्ज क्षमताको प्रोसेसर हुने उल्लेख भएकोमा आपूर्ति गरिएका उपकरणमा २.१ गीगाहर्जको प्रोसेसर मात्र रहेको खुलेको छ।

प्राविधिकरूपमा हेर्दा २.४ गीगाहर्जको प्रोसेसरले २.१ गीगाहर्जको भन्दा प्रति सेकेन्ड करिब ३० करोड बढी निर्देशन (इन्स्ट्रक्सन) प्रक्रिया गर्न सक्छ। त्यसैले क्षमतामा करिब १४ प्रतिशतभन्दा बढीको अन्तर आउँछ। तर त्यही कम क्षमताको उपकरण आपूर्ति गरिए पनि पुरै रकम भुक्तानी गरी भ्रष्टाचार गरिएको हो।

अख्तियारले यो भ्रष्टाचार नियोजित रूपमा भएको बताएको छ। केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इञ्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र ठेकेदार कम्पनीका प्रमुख अरुण श्रेष्ठ मिलेर भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।

उनीहरूले झुटा कागजात पेश गरी सरकारलाई करिब १५ करोड ८८ लाख रुपैयाँ बराबरको हानि पुर्याएर त्यसबाट व्यक्तिगत लाभ लिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*