न कानुनले रोक्न सक्यो, न समाजले बुझ्न सक्यो: छाउपडीले फेरि लियो एक चेलीको ज्यान

२९ असार २०८२, आईतवार १२:०१

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा छाउगोठमा सुतेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ। २८ वर्षीया कमला आउजीलाई सुतिरहेकै अवस्थामा सर्पले बाँया गालामा डसेपछि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो।

सरकारले कानुनीरूपमा छाउपडीलाई अपराध घोषणा गर्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको वर्षौं बितिसक्दा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महिलाहरू अझै पनि महिनावारीको समयमा छाउगोठमा बस्न बाध्य छन्। छाउगोठमा सुत्दा चिसो, रोग, हिंसात्मक व्यवहार र विषालु जनावरको जोखिम लगातार बढिरहेको छ।

छाउगोठमा सुतिरहेकी महिलाको सर्पको डसाइबाट मृत्यु हुने घटना नयाँ होइन। अघिल्ला वर्षहरूमा अछाम, बाजुरा, कैलाली र डोटी जिल्लामा पनि यस्ता घटना दोहोरिइसकेका छन्। त्यसको बाबजुद पनि छाउपडीको सामाजिक प्रभाव अझै उस्तै छ।

छाउपडीमा बस्न बाध्य पारिए जेल सजाय हुने व्यवस्था सरकारले ल्याएको थियो । कानुनले व्यवस्था गरे पनि यसको कार्यान्वयन कमजोर छ। कानुन बनाउनेहरू आफैं ग्रामीण भेगमा चेतनामूलक अभियानमा उत्रिन तयार नहँदा समस्या अझ जटिल बन्दै गएको देखिन्छ।

छाउपडी कुप्रथाका कारणले मृत्यु भएका घटनाहरूको अनुसन्धान कठिन हुने गरेको छ, किनभने पीडित परिवारहरू सामाजिक दबाबका कारण आवाज उठाउन सक्दैनन्। अझै पनि धेरैजसो गाउँमा महिलाहरूलाई महिनावारी भएका बेला रजस्वला भएको भन्दै घर, भान्साघर, धार्मिक स्थल छुन नदिने परम्परा बलियो रूपमा कायमै छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*