आज मन्त्री परिषद् बैठक बस्दै, दुई मन्त्रीको पद धरापमा!

३० असार २०८२, सोमबार ११:०९

काठमाडौँ । राजनीति अस्थिरताको घुमाउरो मोडमा प्रवेश गरिरहँदा आज साँझ ६ बजे बालुवाटारमा मन्त्री परिषद्को बैठक बस्दैछ । पछिल्ला विवाद र दलगत समीकरणको बदलिँदो चपेटाबीच दुई मन्त्रीको पद धरापमा परेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको मन्त्री पद आजको बैठकबाट टुङ्गिने संकेत देखिएको छ ।

मन्त्री गुप्तामाथि भूमि आयोगको नियुक्ति र मालपोत प्रमुख सरुवामा घुसको ‘डिल’ भएको आरोप लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ फोनमार्फत सोधपुछ गरेका थिए । तर, गुप्ताले चित्त बुझ्दो जवाफ दिन नसकेको भन्दै प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद् बैठकमै अन्तिम निर्णय लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले गुप्तालाई राजीनामा दिन आग्रह गर्ने र नमानेमा बर्खास्त गर्ने निर्णय लिने तयारी छ ।

सरकारमाथि नैतिक दबाबमा परिरहेको बेला प्रधानमन्त्रीले घुस प्रकरणमा कठोर निर्णय लिने संकेत दिएका छन् । आजको बैठकमा सम्बन्धित निकायबाट ब्रिफिङ लिएर गुप्ताको विषयमा निर्णय हुने बताइएको छ ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीले असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीका तर्फबाट मन्त्री बनेका अरुणकुमार चौधरीको राजीनामा पनि आजकै बैठकबाट स्वीकृत हुने भएको छ । चौधरीले पाँच दिनअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएको दाबी गरे पनि अहिलेसम्म औपचारिक स्वीकृति नआएकाले उनी पदमै छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार अब ढिलो नगरी चौधरीलाई पनि आजकै बैठकबाट औपचारिक रूपमा पदमुक्त गरिने तयारी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*