भाटभटेनी सुपरमार्केट्सद्वारा ९ करोड लागतको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण

३० असार २०८२, सोमबार १३:२२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट्सको सहयोगमा निर्माण गरिएको ९ करोड रुपैयाँ बराबरको नयाँ भवन सोमबार अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

स्वर्गीय वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा निर्माण गरिएको सो भवनको हस्तान्तरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न सफल रहेको भन्दै भाटभटेनी सुपरमार्केट्स र गुरुङ परिवारको प्रशंसा गरे।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘ईएचएस’ नाम दिइएको भवनको उद्घाटनसमेत गरे। यो भवन शिक्षण अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास लिइएको छ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले राष्ट्र, जनता र समाजको सेवामा समर्पित भावनाका साथ यो काम गरिएको जानकारी दिए। ‘कुनै स्वार्थ नराखी यो भवन राष्ट्रको सेवामा समर्पण गरेका हौं,’ गुरुङले भने।

भवन हस्तान्तरणपछि त्रिवि शिक्षण अस्पतालका पदाधिकारीहरूले भाटभटेनी सुपरमार्केट्सप्रति आभार व्यक्त गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*