बीमा सुविधा नदिए परिणाम राम्रो हुनेछैन: मेयर साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी कोइराला अस्पताल) लाई स्वास्थ्य बीमा सुविधाको ‘प्रथम अस्पताल’ को सूचीमा समावेश गर्न माग गर्दै स्वास्थ्य मन्त्रालय र बीमा बोर्डलाई औपचारिक पत्र पठाएको छ।
उपमहानगरको कार्यपालिका कार्यालयबाट साउन २९ गते जारी पत्रमार्फत धरानवासीलाई बीमा सेवाबाट वञ्चित नगराउन स्पष्ट आग्रह गरिएको छ। बीपी प्रतिष्ठानलाई बीमा सेवाको दायराभित्र ल्याउन नसके धरानका सर्वसाधारणले उपचारको अवसर गुमाउने खतरा रहेको उपमहानगरपालिकाको ठम्याइ छ।
मेयर हर्क साम्पाङ (राई) ले यस विषयमा सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै भनेका छन्, ‘बिमा सेवा बन्द भयो भने परिणाम राम्रो हुनेछैन। हामी अहिले चेतावनी मात्रै दिंदैछौं, धरानेलाई नहेप है फेरि, थाम्न सक्दैनौ।’
सामाजिक सञ्जालमा समेत व्यापक चर्चामा रहेको मेयर साम्पाङको स्टाटसले धरानवासीको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न पहल नलिए आन्दोलनको वातावरण बन्न सक्ने सङ्केत गरेको छ।














