देशमा बिचौलियाको हातमा: नयाँ स्टक प्रक्रियामा समेत चलखेल, संसदमा प्रचण्डको कडा चेतावनी

३० असार २०८२, सोमबार १४:२९

काठमाडौं । प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार, व्यवस्थापिका र नियामक निकायहरूमा व्यापक दलाल र बिचौलियाहरूको चलखेल भएको आरोप लगाएका छन्। उनले संसदमा प्रस्तुत हुँदै देश अहिले बहुआयामिक संकटमा फसेको भन्दै समग्र शासन प्रणालीलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकताको औँल्याएका हुन्।

उनले हालको सरकार दलाल र बिचौलियाहरूको हितपूर्ति गर्न गठित भएको दाबी गर्दै भने, ‘सरकार आज दलाल र बिचौलियाका स्वार्थपूर्ति दलकै नेता कार्यकर्ताको भाषा छ।’

उनले विशेषगरी सेयर बजार नियामक संस्था, जग्गा काण्ड, भुटानी शरणार्थी काण्ड, र सरुवा–नियुक्तिमा भइरहेको अनियमिततालाई उदाहरण दिँदै सुशासन आयोगसम्मलाई निष्प्रभावी बनाइएको बताए। प्रचण्डले भने, ‘प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको सुशासन आयोगको हविगत के भयो भन्ने प्रष्ट भएको छ। अहिले स्टक एक्सचेन्जका लागि भइरहेका चलखेलहरू यसैको अर्को रूप हो।’

उनले नयाँ स्टक एक्सचेन्ज लाइसेन्सको सन्दर्भ उठाउँदै वर्तमान प्रक्रियालाई खारेज गरेर निष्पक्ष र पारदर्शी मापदण्डअनुसार नयाँ प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरे। ‘म यो सम्मानित सदन समक्ष अहिलेको प्रक्रिया रोकेर भ्रष्टाचार नियन्त्रण गर्ने ढंगले नयाँ प्रक्रियामा जान विशेष माग गर्न चाहन्छु’ उनले संसदमा भने।

प्रचण्डले हिमाली क्षेत्रबाट आउने जलविपद् र पहिरोको जोखिमप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै नदीहरूमा अतिरिक्त जलप्रवाह नहोस् भनेर अन्तरदेशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य तीव्र पार्नुपर्ने बताए। मौसमविद्हरूले यो वर्ष बढी वर्षा हुने चेतावनी दिइसकेको सन्दर्भमा विगतका त्रासदीबाट पाठ सिकेर काम गर्नुपर्नेमा उनले जोड दिए।

साथै, उनले कञ्चनपुरमा छाउगोठमा किशोरीको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस्तो अमानवीय प्रथाको अन्त्यका लागि सरकारले विशेष सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ‘म मृतकप्रति श्रद्धा प्रकट गर्दै यो प्रथाको अन्त्यको लागि हामी सबैले, विशेषतः सरकारले पहल गर्नुपर्नेमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने।

सम्पूर्ण राजनीतिक यात्रा र मुलुकको परिवर्तनको पृष्ठभूमिमा प्रचण्डले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्ती अवसरमा विस्तृत शान्ति सम्झौताका मूल भावना स्मरण गरे। उनले संविधानसभामा गरिएको प्रतिबद्धता र नेपाली समाजको परिकल्पनाको विपरीत दिशातिर अहिलेको सरकार अघि बढिरहेको भन्दै गम्भीर समीक्षा र कठोर निर्णय आवश्यक भएको बताए।

उनले लोकतन्त्रको संरक्षण, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको वाचा गर्दै गरिएको शान्ति प्रक्रिया र संविधान निर्माणको आत्मालाई बेवास्ता गर्न नहुने चेतावनी दिए। ‘हामीले जुन सपना देखेका थियौं, त्यो दिशातिर हैन, ठीक उल्टो दिशातिर अगाडि बढेको देखिन्छ’ उनले स्पष्ट गरे।

शिक्षक, चिकित्सकजस्ता पेशागत समूहहरू सडकमा उत्रिनुपर्ने अवस्था आउनु, संवैधानिक निकायमा राजनीतिक भागबन्डा हुनुले जनता निराश भएको उल्लेख गर्दै उनले सरकारको नैतिक धरातल कमजोर बनेको धारणा राखे। ‘सरकार त संख्याको बलमा टिकेको होला, तर विश्वासको आधार समाप्त हुँदै गएको छ’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*