राष्ट्रिय बीमा कम्पनी लहान शाखाद्वारा पहिलोपटक सामूहिक दुर्घटना बीमा सुरु, १०१ कर्मचारी र जनप्रतिनिधि बीमित

३० असार २०८२, सोमबार १४:५४

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लहान शाखाले मधेश प्रदेशको बलान बिहुल गाउँपालिकामा पहिलोपटक सामूहिक दुर्घटना बीमा कार्यक्रमको सुरुवात गरेको छ। गाउँपालिकाले आफ्नो कार्यालयमा कार्यरत १०१ जना कर्मचारी र जनप्रतिनिधिहरुको प्रतिव्यक्ति १० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको हो।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लहान शाखाले असार २४ गते बीमालेख जारी गरेपछि कम्पनीको आयोजनामा ‘सामूहिक दुर्घटना बीमा’ सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम असार २९ गते आइतवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षता रहेको थियो भने बीमा सम्बन्धी प्रशिक्षण लहान शाखाका प्रमुख सुर्यनाथ महतोले दिएका थिए। उक्त कार्यक्रममा ५५ भन्दा बढी कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिति थियो।

मधेश प्रदेशमा बीमाको पहुँच अझै कम रहेको सन्दर्भमा यस्तो पहलले बीमाको दायरा विस्तार हुने अपेक्षा कम्पनीले लिएको छ। जनताको सेवामा क्रियाशील कर्मचारी र जनप्रतिनिधिहरु दैनिकरूपमा विभिन्न जोखिमको सामना गरिरहेका हुन्छन्। बीमाले मानवीय क्षति रोक्न नसके पनि दुर्घटनापश्चात हुने आर्थिक क्षतिमा आंशिक राहत अवश्य दिन सक्छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार श्रम ऐन, २०७४ को दफा ५५ मा प्रत्येक श्रमिकलाई जुनसुकै प्रकारको दुर्घटनाबाट सुरक्षित राख्न कम्तीमा सात लाख रुपैयाँ बराबरको बीमा गरिनुपर्ने व्यवस्था छ। त्यस्तै, मधेश प्रदेश निजामति सेवा ऐनमा पनि कर्मचारीका लागि दुर्घटना बीमा अनिवार्य गरिएको छ।

कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षदेखि अझै बीमा नभएका बाँकी कर्मचारीहरुलाई पनि बीमा कार्यक्रमभित्र समेट्ने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*