नयाँ स्टक एक्सचेन्जमा देखिएको अन्योलबारे समितिको चासो, मागियो विस्तृत विवरण

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र नेप्से पुनर्संरचनासम्बन्धी विषयमा उठेका जटिलता र विवादका कारण संघीय संसद अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय र धितोपत्र बोर्डले हालसम्म गरेका काम सिफारिस, प्रतिवेदन र प्रक्रियाका सबै विवरण माग गर्ने निर्णय गरेको छ।
असार २६ गते बसेको समितिको बैठकले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धी प्रस्ताव र नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रियामा देखिएको प्रगतिको स्पष्ट तथ्य संकलन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
समितिको निर्णय अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले अर्थ मन्त्रालय समक्ष पेश गरेका प्रतिवेदन, सिफारिस, प्रस्ताव तथा अन्य आधिकारिक कागजातहरू बुझाइनेछ। त्यस्तै, नयाँ स्टक एक्सचेन्जको आवश्यकता र औचित्यका सम्बन्धमा धितोपत्र बोर्डले हालसम्म मन्त्रालयमा पेश गरेका कुनै पनि सामग्री समितिले माग गर्ने भएको छ।
यससँगै, समितिले अघिल्लो अवधिमा अर्थ मन्त्रालय वा त्यस मातहतका निकायहरूले गठन गरेका कुनै पनि आयोग, कार्यदल वा समितिबाट पेश गरिएका प्रतिवेदनमा नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेन्जको सम्बन्धमा के सिफारिस गरिएको छ भन्ने विवरण पनि माग गरेको छ।













