अत्याधुनिक फिचर र सेमी सोलिड ब्याट्रीसहित नयाँ अवतारमा आउँदै एमजी–४

३१ असार २०८२, मंगलवार १०:३१

काठमाडौं । चिनियाँ अटो निर्माता एसएआईसी मोटरले पूर्णरूपमा पुनः डिजाइन गरिएको एमजी–४ इलेक्ट्रिक ह्याचब्याक चीनमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अगस्ट ५ तारिखदेखि नयाँ मोडेलको प्रि-अर्डर खुला गर्नेछ भने सेप्टेम्बर महिनामा आधिकारिक रूपमा बजारमा लन्च गर्ने योजना बनाएको अनुमान गरिएको छ।

अटो होम नामक चिनियाँ वेबसाइटका अनुसार यो गाडी एमजी ब्रान्डको पहिलो मोडेलहरूमध्ये एक हुन सक्छ जसमा मानकका रूपमा सेमी सोलिड स्टेट ब्याट्री प्रयोग गरिएको हुनेछ। एमजीका निर्देशक चेन कुईका अनुसार यस मोडेलले प्रविधिमा नयाँ फड्को मारेको छ।

पहिलेको संस्करणको तुलनामा नयाँ एमजी–४ अझ ठूलो देखिन्छ। गाडीको लम्बाइ ४,३९५ एमएम, चौडाइ १,८४२ एमएम, उचाइ १,५५१ एमएम रहेको छ भने यसको ह्वीलबेस २,७५० एमएम छ। यो साइजले एमजी–४ लाई बिवाईडी डल्फिन र फक्सवागन आइडी–३ भन्दा ठूलो बनाएको छ। लम्बाइ र ह्वीलबेसको यो बृद्धिले यात्रुका लागि थप स्पेस र कार्गो कोठामा सुधार ल्याउने कम्पनीको दाबी छ।

चीनको सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा डिएफ एमजीद्वारा सार्वजनिक गरिएको प्रोमोशनल भिडियोमा गाडीको इन्टेरियर पनि खुलाइएको छ। फ्लोटिंग सेन्ट्रल टचस्क्रिन, आयताकार डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र दुई स्पोक भएको मल्टिफंक्शन स्टेयरिङ ह्वील देखाइएको छ। थप सुविधामा स्तम्भमा माउन्ट गरिएको इलेक्ट्रोनिक गियर शिफ्टर, वायरलेस फोन चार्जिङ प्याड, पावर समायोजन हुने सिट, तताउने र भेन्टिलेसन फिचरसमेत रहेका छन्।

एमजी कम्पनीले यो नयाँ मोडेलमा हाइवे नेभिगेट अन अटोपायलटसहितका असिस्टेड ड्राइभिङ फिचरहरू उपलब्ध गराउने जानकारी दिएको छ। यद्यपि, अन्य पूर्ण फिचरहरूको विवरण भने अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।

गाडीमा पछाडिको भागमा १२० किलोवाटको इलेक्ट्रिक मोटर राखिएको देखिन्छ। अगाडिको म्याकफर्सन र पछाडिको पाँच लिङ्क स्वतन्त्र सस्पेन्सन कन्फिगरेसनले यसलाई हालको मोडेलभन्दा फरक बनाएको छ।

हाल चीनमा एमजी–४ को बिक्री सीमित रहेको छ। २०२५ को बिक्री तथ्याङ्कअनुसार मात्र १० युनिट बिक्री भएका थिए। यस्तो अवस्थामा, नयाँ र पुनः डिजाइन गरिएको एमजी–४ ले बिवाईडी डल्फिन र फक्सवागन आइडी जस्ता घरेलु प्रतिस्पर्धी ईभी ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*