काभ्रेको रिसोर्टमा करोडौंको अनलाइन सट्टेबाजी भण्डाफोर, पाँच जना पक्राउ

काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा सञ्चालित दुई होटलमा लुकीछिपी अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन भइरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा मार्दै पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटपसहित सट्टेबाजीसम्बन्धी सामग्री बरामद गरिएको छ। पक्राउ परेकामा भक्तपुर नगरपालिका–८ इमाटोलका ३२ वर्षीय दिगज नकर्मी, भक्तपुर–४ कमलबिनायकका २८ वर्षीय संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका–१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जन रहेका छन्।
उनीहरू मण्डनदेउपुर–७ स्थित नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेन्टको कोठा भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए। विशेष सूचनाका आधारमा साउन ३० गते दिउँसो प्रहरीको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।













