ऊर्जा आत्मनिर्भरता र दिगो विकासतर्फ सरकार प्रतिबद्धः मन्त्री खड्का

३१ असार २०८२, मंगलवार १५:५७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिसकेको जानकारी गराए।

‘ट्रान्समिसन लाइन पुगेको ठाउँमा विद्युत उत्पादन गर्न दिनु पर्ने प्रधानमन्त्रीज्यूको नीति अनुरुप पिपिए भएको छ ।’ मन्त्री खड्काले बताए। साथै, उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको उनले जानकारी दिए।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्नुहुँदै मन्त्री खड्काले सरकारले सुरक्षित लगानी वातावरण तयार गरेर निजी क्षेत्रलाई साझेदार बनाउन कुनै द्विविधा नरहेको स्पष्ट पारे। ‘सरकार एक्लैले लगानी गर्न सक्दैन, निजी क्षेत्रको सहभागिता आवश्यक छ ।’ उनले भने।

कार्यक्रममा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारको नियत र कार्यशैलीमाथि प्रश्न उठाउँदै समयमै विद्युत खरिद सम्झौता नगरेको, लाइसेन्स कब्जा गर्ने प्रवृत्ति रोक्न नसकेको भन्दै आलोचना गरेपछि जवाफमा मन्त्री खड्काले विगत १२ वर्षमा माओवादी नेतृत्वले ऊर्जा मन्त्रालय सम्हाल्दा के काम भयो? भन्ने प्रश्न गरे। ‘विगतदेखि रोकिएका काम अहिले अघि बढेका छन् ।’ उनले भने। सरकारमा हुँदा एउटा कुरा र बाहिर हुँदा अर्को कुरा गरेर विकासको बाधक बन्नुको सट्टा राष्ट्रको समृद्धिकालागि सबैले अपनत्व लिनुपर्ने मन्त्री खड्काले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*