स्थानीय चुनाव हारेकी न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री

काठमाडौं । कर्मचारी सरुवामा घुस मागेको आरोपपछि राजीनामा दिन बाध्य भएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरेका छन्।
गत सोमबारमात्रै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका गुप्ताको चौतर्फी आचोलना भएपछि प्रधानमन्त्री ओलीले मंगलबार बिहानै राजीनामा दिन निर्देशन दिएका थिए। त्यसपछि खाली रहेको सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीको सिफारिसमा एमाले नेतृ न्यौपानेलाई दिइएको हो।
न्यौपानेलाई राजनीतिक यात्रामा यो समेत तेस्रोपटक अप्रत्यासित रूपमा उच्च पद मिलेको हो। २०७४ सालको स्थानीय तहको चुनावमा तनहुँको भानु नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग ५०६ मतले पराजित भएपछि उनी चुनावी मैदानबाट टाढा रहँदै आएकी थिइन्।
तर त्यसको दुई वर्षपछि प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशबाट उनलाई राष्ट्रियसभा सदस्य बनाए। २०७६ सालमा भएको राष्ट्रियसभा चुनावमा उनले कांग्रेसकी विमला गौचनलाई हराउँदै निर्वाचित भइन्। पार्टीभित्र र बाहिर ओलीको विश्वासपात्रका रूपमा न्यौपानेलाई अवसर दिइएको भन्दै आलोचना भएको थियो।
एमालेले समानुपातिक तर्फबाट दुईपटक नाम राखे पनि सांसद बन्न असफल भएकी न्यौपानेलाई प्रधानमन्त्री ओलीले स्थानीय सरकारको नेतृत्वमा ल्याउने प्रयास गरेका थिए। तर जनताबाट निर्वाचित हुन नसकेकी उनी पछि आफ्ना नेता र कार्यकर्ताको मतबाट राष्ट्रियसभामा निर्वाचित भइन्।
गुप्ताको पद त्यागपछि अहिले आठ महिना मात्रै कार्यकाल बाँकी रहँदा उनलाई मन्त्री बनाइएको हो। आउँदो फागुनमा राष्ट्रियसभा सदस्यको रूपमा उनको कार्यकाल सकिंदैछ। यद्यपि उनी थप ६ महिना गैरसांसद भएर पनि मन्त्री रहन पाउने संवैधानिक व्यवस्था छ।












