छात्रवृत्तिका लागि काठमाडौं महानगरमा देशभरबाट १७ हजार बढी आवेदन, विज्ञानतर्फ झन्डै ७१% आकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेसँगै देशभरबाट व्यापक रूपमा सहभागिता देखिएको छ। महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ जना विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका छन्।
शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार तीमध्ये सबैभन्दा धेरै अर्थात् १२ हजार ३३७ जनाले विज्ञान विषयका लागि आवेदन दिएका छन्। यो कुल आवेदकको झन्डै ७१ प्रतिशत हो। व्यवस्थापनमा ४ हजार ४८१, मानविकीमा ३४, शिक्षामा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन्।
महानगरले असार ३२ गते बिहानसम्म आवेदन रुजु प्रक्रिया सम्पन्न गर्ने बताएको छ। त्यसपछि साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। प्रवेश पत्र महानगरको आधिकारिक वेबसाइट www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गएर ‘एडमिट कार्ड’ विकल्प छानी आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ। प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी समेत समावेश हुने शिक्षा विभागले जनाएको छ।
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ जसमा अनिवार्य गणित, विज्ञान, अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न रहनेछन्। सबै प्रश्न बहुवैकल्पिक हुने र परीक्षा उत्तीर्ण गर्न कम्तीमा ४० प्रतिशत अंक आवश्यक हुनेछ। परीक्षा प्रणालीमा गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) हुने छैन।
परीक्षापछि प्राप्तांकको मेरिट सूचीको आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई निजी विद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।












