नेपाल इन्स्योरेन्सको रेटिङ पुनः पुष्टि, वित्तीय दायित्व चुक्ता गर्ने क्षमतामा सुरक्षित

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जुलाई २०२५ मा जारी रेटिङलाई इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेटिक्स नेपाल) ले पुनः पुष्टि गरेको छ। कम्पनीको ‘इस्युअर रेटिङ’ आईआरएन ए- (आईएस) [सिंगल ए माइनस (इस्युअर)] कायम गरिएको हो।
उक्त रेटिङ प्राप्त गर्ने कम्पनीहरूलाई आफ्ना वित्तीय दायित्वहरू समयमै चुक्ता गर्न सक्ने पर्याप्त सुरक्षा स्तर भएको मानिन्छ। यस्तो रेटिङ पाउने कम्पनीहरूले कम क्रेडिट जोखिम बोकेको जनाइन्छ।
रेटिङ हेर्ने वित्तीय संस्थाहरूका अनुसार, ‘आईआरएन ए-’ स्तरको रेटिङ पाएका कम्पनीहरू औसतभन्दा राम्रो वित्तीय अवस्था भएका मानिन्छन् र यिनीहरूमा लगानी गर्दा जोखिम कम हुने विश्वास गरिन्छ।
रेटिङ पुनः पुष्टि हुनुका पछाडि कम्पनीको लामो व्यवसायिक अनुभव, बलियो प्रवर्द्धक समूह, पुनर्बीमा आय, लाभदायकता तथा पर्याप्त सॉल्भेन्सी अनुपात मुख्य आधार रहेको इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले उल्लेख गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनी नेपालको पहिलो बीमा कम्पनी हो जसले लामो समयदेखि स्थायी रूपमा बीमा सेवा प्रदान गर्दै आएको छ।













