वर्षाले नदीमा बहाब उल्लेख्य बढ्ने, ५१ जिल्लामा बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज ५१ वटा जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी, मधेश बागमती, गण्डकी र कर्णाली लगायत देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरेको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी लगायत देशका पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिममापतको सम्भावना रहेको जनाएको छ।
आज राती गण्डकी, लुम्बनी, कर्णाली, र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जनाएको छ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज देशभरका विभिन्न नदीहरूमा पानीको बहाब सामान्यदेखि उल्लेख्य बढ्ने भएकाले ५१ वटा जिल्लामा आकास्मिक बाढीको जोखिम औंल्याएको छ।
आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेर्हथुम, धनकुटा, खोटांग, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिंग, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, जमजुंग, गोरखा, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जनाएको छ।
त्यसैगरी सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहानै सामाजिक सञ्जालमार्फत् सतर्कता अपनाउन र सम्भावित विपतसँग जुध्न सुरक्षा निकायलाई सतर्क रहन आग्रह गरेका छन्।













