खानेपानीमन्त्री यादवद्धारा मेलम्ची खानेपानी आपूर्ति प्रणालीको निरीक्षण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रातिमा समेत अनुगमन गरेका छन् ।
मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् ।
मन्त्री यादवले खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्धारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको पाइपलाइन बिच्छाइएको क्षेत्रमा भए गरेका कामहरुका बारेमा प्रत्यक्ष रुपमा जानकारी लिन अनुगमन तथा निरीक्षण गरेका हुन् ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परिक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।













