गभर्नरको कार्यशैलीप्रति प्रधानमन्त्री कार्यालय असन्तुष्ट !

६ श्रावण २०८२, मंगलवार ११:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नै असन्तुष्ट रहेको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिबाट सरकार नै त्रसित हुनुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूको बुझाई छ । गभर्नर पौडेलले वर्तमान संकटपूर्ण अर्थतन्त्रलाई स्थीर वा सुधारको दिशातर्फ लैजाने ठोस योजना बनाउन नसकेको भन्नेमा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू स्पष्ट भइसकेका छन् ।

गभर्नर पौडेलले हाल बैंकमा थुप्रिएको निक्षेपलाई घरजग्गा र शेयर बजारमा पठाउने गरी नीति खुकुलो बनाएपछि सरकारले चालू आवको लागि जारी गरेको बजेट कार्यान्वयनमै प्रश्न उठ्ने अवस्था छ । गभर्नर पौडेलले निक्षेपको ब्याज घटाएर निरुत्साहित गरेका छन् भने बैंकमा संकलित निक्षेपलाई अनुत्पादक क्षेत्रमा लगानी बढाउने गरी नीति संशोधन गरेका छन् ।

चालू आवमा ६०० अर्ब रुपैयाँ ऋण लिर्नैपर्ने बाध्यकारी अवस्थाका बीचमा अदूरदर्शी र एक–दुई महीना मात्रै चहलपहल हुने नीति अघि सारेको भन्दै गभर्नर डा. पौडेलको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले गभर्नरका कारण सरकारलाई अप्ठेरो अवस्था आउनेबारे अनौपचारिक छलफल भएको स्वीकारेका छन् ।

भर्खरै नियुक्त गरिएका गभर्नरको नियुक्ति प्रक्रिया र योग्यताबारे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सचेत हुने अवस्थामा पुगेको छ । गभर्नर डा. पौडेलको व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण नभई कृषि विषयमा हो भन्ने एकीन भएपछि अहिले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू नै तीन छक परेको अवस्था सिर्जना भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*