एडिबीद्वारा पाँचवर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

६ श्रावण २०८२, मंगलवार १३:००

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज नेपालका लागि एसियाली विकास बैंक (एडिबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् ।

एडिबीको सञ्चालक समितिबाट यसै वर्ष असार ३ मा स्वीकृत भएको राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । रणनीतिले निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाहरुका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतालाई केन्द्रित गरेको छ ।

अर्थ सचिव घनश्याम उपाध्याय, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्या र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेका हुन् ।

एसियाली विकास बैंकले नेपालमा पहिलोपटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो र यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित भएको छ ।

आफ्नो विशेष मन्तव्य राख्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै हाम्रो ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको शुरुवात भएको छ ।’ उनले थपे, ‘१६औं योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाहरूका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्नेछ । आर्थिक रूपान्तरणको हाम्रो यात्रामा एडिबीको अटल सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।’

‘राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडिबीको अटल प्रतिवद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील, हरित र रोजगारी सघन आर्थिक वृद्धिको वृहद् एजेण्डा तय गर्दछ ।’ कोश्वाले भने, ‘हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको प्रशंशा गर्दछौं । नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आवद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग काम गर्न एडिबी प्रतिवद्ध छ ।’

राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितिकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्दछ ।

एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*