रुसको सुदूर पूर्वमा ४९ जना सवार विमान दुर्घटनाग्रस्त

८ श्रावण २०८२, बिहीबार १३:५३

काठमाडौँ । रुसको पूर्वी अमुर क्षेत्रमा हराएको अंगारा एयरलाइन्सको एन्टोनोभ-२४ विमानको भग्नावशेष फेला परेको छ। उद्धारकर्मीहरूले टिन्डा विमानस्थलबाट झन्डै १६ किलोमिटर (१० माइल) टाढा रहेको डाँडामा उक्त विमान जलिरहेको अवस्थामा भेट्टाएका हुन्। प्रारम्भिक रिपोर्टअनुसार विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ।

विमान ब्लागोभेस्चेन्स्क सहरबाट उडेको थियो जुन चिनियाँ सीमाको नजिक अवस्थित छ। विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। अमुर प्रदेशका गभर्नर भासिली ओरलोभले विमान खोज्न आवश्यक सबै स्रोत र जनशक्ति परिचालन गरिएको बताएका छन्। उनका अनुसार विमानमा पाँच जना बालबालिका पनि सवार थिए।

विमान टिन्डा विमानस्थलमा अवतरण गर्न लागेको बेला राडारबाट सम्पर्कविहीन बनेको थियो। त्यसपछि सुरु गरिएको खोजीमा रुसको नागरिक उड्डयन विभागको हेलिकप्टरले जङ्गलको बिचमा जलिरहेको विमानको भग्नावशेष देखेको थियो।

अमुरको नागरिक सुरक्षा केन्द्रले टास समाचार संस्थालाई दिएको जानकारीअनुसार विमान टिन्डा सहरबाट झन्डै १६ किलोमिटर उत्तरमा डाँडाको ढल्कोमा फेला परेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोहरूमा विमानको टुक्रा घना जङ्गलमा जलिरहेको देखिन्छ।

रुसी आपतकालीन अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा खराब मौसममा पाइलटको गल्ती वा प्राविधिक गडबडीको आशंका गरिएको जनाएका छन्। विमान खाबारोभ्स्कबाट सुरु भएको लामो यात्राको अन्तिम खण्डमा रहेको थियो।

अंगारा एयरलाइन्सद्वारा प्रयोग गरिएको एन्टोनोभ-२४ विमान झन्डै ५० वर्ष पुरानो थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*