एयरपोर्टमा रहेको हवाई इन्धन डिपो सारिने, साढे ६ अर्ब लागत

काठमाडौं । नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ ।
आयल निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बिहीवार विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । नेपाल आयाल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज हस्तान्तरण गरेको छ । भदौमा टेण्डर गर्ने तयारी रहेको छ ।
गत मंसिरमा आयल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । सोहीअनुसार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले आज आयल निगम सिनामंगललाई डिपिआर बुझाएको हो । डिपिआर हस्तान्तरण कार्यक्रममा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरु पुराना मोडलको रहेको बताउँदै अब बन्ने प्रोजेक्ट अत्याधुनिक प्रविधिको बन्ने बताए ।
त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको भन्दै आलोचित हुनुपरिरहेको छ । विमानस्थलको ट्याक्सी वे समेत डिपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । आयल निगमकाअनुसार डिपिआर तयार भएसँगै आवश्यक प्रक्रिया तत्कालै अघि बढाइनेछ ।












