‘हरियो बनेको पुँजीबजार सुखद संकेत, नीतिगत सुधारले ब्यवसायीमा भरपर्दो आशा जगायो’

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजीबजारमा देखिएको हरियाली सकारात्मक संकेत भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारमा आशा र सम्भावना देखिन थालेको उल्लेख गरे।
उनले पुँजीबजारमा हरियो संकेत देखिनु सुखद् कुरा भएको उल्लेख गर्दै भने, ‘सुस्ताएको, आरालो लागेको बजार आज एउटा आशा लाग्दो भएको छ । केही नयाँ सम्भावनाहरु पनि देखाएको छ ।’
पछिल्लो समय वस्तुको निर्यातमा देखिएको सुधारको पनि उनले चर्चा गरे। तथ्यांकले नै निर्यातमा सफलता मिलेको देखाएको उल्लेख गर्दै उनले त्यसमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए।
कार्यक्रममा मन्त्री भण्डारीले सरकारद्वारा गरिएको नीतिगत सुधारको कारण बजारमा सकारात्मक सन्देश आएको दाबी गरे। उनका अनुसार अघिल्लो संरचनामा व्यवसायहरू २० प्रतिशत मुनाफामा सीमित रहनुपर्ने बाध्यता थियो, जुनभन्दा बढी मुनाफा भए कालोबजारीको आरोप लाग्थ्यो। ‘त्यही भएर हामीले कालोबजारी ऐनलाई खारेज गर्यौं’ उनले स्पष्ट पारे, ‘यसले बजार र व्यवसायीलाई उत्साही बनाएको छ ।’
मन्त्री भण्डारीले व्यवसायीहरूको लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। बजारमा गुणस्तर कायम गर्न तथा कालोबजारी नियन्त्रण गर्न अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको जानकारी पनि उनले दिए।












