क्यानको ३१ अर्ब ४० करोडको बजेट, पुँजीगत खर्च बढाउँदै सञ्चालन खर्च घटाउने तयारी

८ श्रावण २०८२, बिहीबार १७:२८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३१ अर्ब ४० करोड ४७ लाखको बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा क्यानको बजेट यस वर्ष रु २ अर्ब ७१ करोड ६९ लाखले घटेको छ । अघिल्लो वर्ष क्यानले रु ३४ अर्ब १२ करोड १६ लाखको बजेट विनियोजन गरेको थियो ।

क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिइएको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले बजेटमार्फत प्राधिकरणको प्राथमिकता स्पष्ट पार्दै पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउने रणनीतिमा अघि बढ्ने बताए ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ रु १२ अर्ब ३९ करोड ७० लाख विनियोजन गरिएको छ, जुन अघिल्लो वर्षको रु ११ अर्ब ५२ करोड २५ लाखको तुलनामा बढी हो । यस्तै, सञ्चालन खर्चतर्फ भने रु ६ अर्ब १५ करोड ६७ लाख मात्र छुट्याइएको छ, जुन अघिल्लो वर्षको रु ६ अर्ब ५२ करोड ७१ लाखभन्दा कम हो । वित्तीय व्यवस्थापनतर्फ क्यानले रु १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

महानिर्देशक अधिकारीले क्यानको आन्तरिक आम्दानी वृद्धिका लागि विमानस्थल सेवा शुल्क, यात्रु सेवा लगायतका विषयमा पुनरावलोकन आवश्यक रहेको बताए । उनले हरेक वर्ष बजेट घटिरहेको र क्यानको स्रोत खुम्चिँदै गएको उल्लेख गर्दै स्रोत व्यवस्थापनमा गम्भीर ध्यान दिइने बताए ।

भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदै उनले यी विमानस्थलको उपयोग र व्यावसायिक सम्भावना बढाउन प्रयास भइरहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*