ठगी अभियोगमा बसन्त राज केसी पाँच महिनादेखि फरार

८ श्रावण २०८२, बिहीबार १७:५४

काठमाडौँ । ठगी मुद्दामा संलग्न रहेको अभियोगमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बसन्त राज केसी पाँच महिनादेखि फरार छन् । काठमाडौं जिल्ला अदालतले २०८१ साल फागुन ५ गते पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

३३ वर्षीय बसन्त राज केसीमाथि ६३ लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनीविरुद्ध आशा पार्कीले काठमाडौं जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा ठगीसम्बन्धी अनुसन्धानका लागि अदालतले पक्राउ अनुमति दिएको हो । अदालतको आदेशपछि पनि प्रहरी उनलाई नियन्त्रणमा लिन असफल भएको हो ।

जाहेरीमा उल्लेख अनुसार बसन्त राज केसीको स्थायी ठेगाना नुवाकोट हो तर उनी हाल काठमाडौंमा बस्दै आएको जनाइएको छ । उनी आफुलाई नेपाली कांग्रेस नुवाकोटका महाधिवेशन प्रतिनिधि बताउँदै आइरहेका थिए। राजनीतिक पहिचान, पहुँच र प्रभावकै कारण प्रहरीले पक्राउ प्रक्रिया अघि बढाउन सकेको छैन भन्ने शंका चुलिएको छ । अभियुक्त फरार भएको अवस्थामा पनि प्रहरीले खोजतलासको विवरण सार्वजनिक नगर्नु, सक्रियता नदेखाउनु र राजनीतिक प्रतिवद्धता भएका व्यक्तिलाई अपारदर्शी ढंगले उन्मुक्ति दिन खोजिएको टिप्पणी हुँदै आएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ को उपदफा (३) बमोजिम अदालतले दिएको स्पष्ट आदेशपछि पनि अभियुक्त पाँच महिनासम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

अदालतको आदेशपछि पनि अभियुक्त पक्राउ नहुनु केवल प्रहरीको कमजोरी मात्रै नभई राज्य संयन्त्रकै असक्षमता र इच्छाशक्तिको अभाव रहेको पिडित पक्षको गुनासो रहदै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*