सांग्रिला मोटर्सले ल्यायो लिपमोटरको नयाँ ‘बी १०’ ईभी एसयूभी, ६०० किलोमिटरसम्मको रेन्ज दिने दावी

१४ श्रावण २०८२, बुधबार १३:३८

काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दै लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी चीन बाहिर विश्व बजारमा पहिलोपटक नेपालबाट लन्च गरिएको हो ।

सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालले लिपमोटरका नयाँ उत्पादनहरू विश्व बजारमा सबैभन्दा पहिले पाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यसअघि सी १० मोडल जस्तै बी १० को पनि चीनपछिको पहिलो अन्तर्राष्ट्रिय लन्च नेपालमा गर्न पाउँदा हामीले निकै भाग्यमानी महसुस गरेका छौं । यसले नेपाली बजारप्रति कम्पनीको विश्वास र प्राथमिकतालाई देखाउँछ ।’

कम्पनीका अनुसार लिपमोटर बी १० आफ्नो मूल्य श्रेणीमा उत्कृष्ट फिचरहरू सहित आएको छ । यसमा १६० किलोवाटको शक्तिशाली मोटर र ६७.२ किलोवाट–आवरको ब्याट्री प्याक जडान गरिएको छ । एक पटकको फुल चार्जमा यो गाडीले ६०० किलोमिटरसम्मको दाबी गरिएको छ भने डब्लूएलटीपी प्रमाणित रेन्ज ४६० देखि ४८० किलोमिटर रहेको छ ।

प्रबन्ध निर्देशक गोल्छाका अनुसार डिजाइनको हिसाबले बी १०, सी १० भन्दा अझ आकर्षक छ । यसमा पोर्शेका डिजाइनबाट प्रेरणा लिइएका केही अंशहरू समेत समेटिएको बताइएको छ । यो गाडी विशेष गरी युरोपेली तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले युरोपेली सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको दाबी कम्पनीले गरेको छ ।

गाडीको मूल्य नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिने बताइएको छ ।

सांग्रिला मोटर्सले सन् २०१७ मा पुजो ब्रान्डमार्फत नेपाली बजारमा प्रवेश गरेको थियो । त्यसपछि कम्पनीले सिट्रोन र सन् २०२२ मा लिपमोटर ब्रान्डलाई नेपाल भित्र्याएको हो । लिपमोटर विश्वको चौथो ठूलो अटोमोबाइल निर्माता ‘स्टेलान्टिस ग्रुप’ अन्तर्गतको ब्रान्ड हो, जसले जीप, फियाट, मसेराटी लगायतका १४ भन्दा बढी चर्चित ब्रान्डहरूको स्वामित्व राख्छ ।

नेपालमा लिपमोटरले एक वर्षभन्दा कम अवधिमा नै राम्रो बजार बनाउन सफल भएको कम्पनीको भनाइ छ । यसअघि लन्च गरिएको सी १० मोडेलको २०० युनिटभन्दा बढी बिक्री भइसकेको जनाइएको छ । बी १० को आगमनले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप चर्किने कम्पनीको विश्वास छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*