नेपाल अब विकासशील मुलुकको यात्रामा अघि बढेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभामा बुधाबर सम्बोधन गर्दै उनले सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति कम विकसित राष्ट्रको सूचीमा राखेको बताए ।
आज ५५ वर्षपछि नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने सुनिश्चित भएको छ । यो उपलब्धिलाई नेपालको दीर्घकालीन प्रयास र योजनाको सफल परिणामको रूपमा लिनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले स्तरोन्नतिपछि नेपालले केही अन्तर्राष्ट्रिय सुविधा गुमाउने भए पनि दीर्घकालीन हिसाबले यो प्रक्रिया नेपालका लागि अवसर हुने विश्वास व्यक्त गरे। स्वास्थ्य, शिक्षा, व्यापार र जलवायु परिवर्तनसम्बन्धी केही अन्तर्राष्ट्रिय सहुलियतहरू कटौती हुनसक्ने भए पनि सरकार त्यसको तयारीमा अघि बढिसकेको उनले स्पष्ट पारे।
परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय कूटनीतिक पहल तीव्र पारिएको र राष्ट्रिय योजना आयोगको अगुवाइमा सहज स्थानान्तरण रणनीति कार्यान्वयन भइसकेको उनले जानकारी दिए।
उनले राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा प्रस्तुत प्रतिवेदन र माननीय सदस्यहरूले दिएका सुझावप्रति आभार व्यक्त गर्दै ती सबैलाई कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।













