नाडा र विभागबीच सवारी निर्देशिका सम्बन्धी छलफल, सहकार्य गरेर समाधान खोज्ने सहमति

१५ श्रावण २०८२, बिहीबार १०:५४

काठमाडौँ ।  साउन १४ गते नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गर्दै विभागले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का विषयमा विस्तृत छलफल गरेको छ।

छलफलमा विद्युतिय सवारी साधनको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर र चार्जिङ्ग स्टेसनको व्यवस्था भएपछि मात्र आयात गर्न दिने, ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने, प्रयोग भइसकेका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, छाप, लोगो र डकुमेन्टेसनको स्पष्ट व्यवस्था गर्ने, मोटर क्षमता र सिट संख्याको विवाद समाधान, भन्सार महसुल निर्धारणका आधार सिफारिस गर्ने जस्ता विषयमा छलफल गरिएको थियो। साथै, ट्याक्सी व्यवसायीहरूले व्यक्तिगतरुपमा आउने सवारीभन्दा ट्याक्सी सवारी महँगो पर्नु सम्बन्धी गुनासो पनि उठाइएको थियो।

छलफलका क्रममा नाडा अध्यक्ष चौधरीले निर्देशनालाई बुँदागत रुपमा छलफल गरेर सुझाव तयार पारिने बताएका थिए। साथै, विभागले छलफलका लागि बोलाएकोमा आभार व्यक्त गरे। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक नदेखिएको भन्दै थप छलफल आवश्यक रहेको बताए।

महानिर्देशक पोखरेलले निर्देशिका ल्याउनुपर्ने आवश्यकता स्पष्ट गर्दै सवारी साधन आयात, उत्पादन तथा जडानको विषयमा हालसम्म स्पष्ट नीति नभएको बताए। उनले सरकारले अब निजी क्षेत्रलाई सहयोगीको भूमिकामा लिने धारणा राख्दै देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने उल्लेख गरे।

नाडा अध्यक्ष चौधरीले सवारी साधनका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था विभागसँग मिलेर गर्न सकिने प्रस्ताव राखेका थिए, जसमा पोखरेलले तीन वटा प्रमुख बुँदामा सहकार्य गर्दै अगाडि बढ्न सकिने प्रतिक्रिया दिए। छलफलका क्रममा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सवारी साधन आयातसँग सम्बन्धित व्यवस्थाहरूको विस्तृत जानकारी दिएका थिए।

उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*