हाइड्रोपावरको रोयल्टीबाट नागरिकहरुलाई निःशुल्क बीमा सेवा प्रदान

१६ श्रावण २०८२, शुक्रबार १५:०३

काठमाडौं । दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बीमा गर्न सुरु गरेको छ। दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको हो। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई स्वास्थ्य बीमा कार्ड उपलब्ध गराएर बीमाको शुभारम्भ गरेका हुन्।

पालिका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र बीमाबाट धेरै स्वास्थ्य सेवा पाउन र नागरिकलाई राहत हुने भएकाले पालिकाभित्र रहेका सबै नागरिकको पालिकाले निःशुल्क बीमा गर्न लागेको र आजदेखि सुरु भएको उनको भनाइ छ।

आज नै वडा नं १ देखि ४ वडासम्म शुभारम्भ कार्य गर्ने र अन्य वडामा क्रमशः गर्दै जाने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामै चुलो बाली स्थायी रूपमा बसोबास गरिरहेका सबै घरपरिवारको स्वास्थ्य बीमा गर्ने बताए। यसका लागि ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नाराका साथ बीमा गर्ने कार्यअघि बढेको छ।

दोर्दी गाउँपालिकामा हाल ५ वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। दोर्दी गाउँपालिकाभित्र ४ हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न १ करोड ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*