अनुगमनमै अनियमितता भेटिँदा शिक्षासम्बन्धी फर्महरूमाथि जरिवाना

१८ श्रावण २०८२, आईतवार १४:१०

काठमाडौं  । आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखा अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका शिक्षासम्बन्धी फर्म तथा व्यवसायहरूमाथि अनुगमन गरी जरिवाना र निर्देशन जारी गरेको छ।

अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ को उल्लंघन भएको पाइएका उद्योग तथा फर्महरूलाई जरिवाना तिराउने र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिने काम गरिएको विभागले जनाएको छ।

अनुगमनमा ‘काठमाडौ ग्लोबल एज प्रा.लि.’ लाई ऐनको दफा ३९ को उपदफा ३ को आधारमा एक लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, ‘रिलिजेन्ट इन्टरनेशनल एजुकेशन प्रा.लि.’ र ‘फास्टलेन टेक्निकल इन्सिच्युट एण्ड टेन्सी प्रा.लि.’ लाई पनि समान रूपमा क्रमशः एक लाख रुपैयाँ र एक हजार रुपैयाँ जरिवाना गरिएको छ।

अन्य केही फर्महरूलाई पनि विभिन्न रकममा जरिवाना गरिएको छ। ‘ए मान ग्लोबल कन्सलटेन्सी प्रा.लि.’ लाई एक हजार रुपैयाँ, ‘कृष्ण फाउण्डेशन प्रा. लि.’ लाई २१ हजार रुपैयाँ, ‘रुकमनी एण्ड ग्रेनाइट हाउस’ लाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यसैगरी, ‘मिरेकल एजुकेशन सर्भिस’ र ‘इम्पायर नेपाल एजुकेशन प्रा.लि.’ लाई तीन दिन भित्र व्यवसायसँग सम्बन्धित सबै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, ‘प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी’, ‘मि. ई. टि. यु. इन्टरनेशनल स्टडीज’, ‘आ.हि.पी. एजुकेशन नेपाल प्रा. लि.’, र ‘अनुकृत ट्रेड प्रा. लि.’ लाई पनि आवश्यक सुधारात्मक निर्देशन दिइएको छ।

विभागले उपभोक्ताको हक र हित सुनिश्चित गर्न नियमित अनुगमनलाई तीव्र बनाएको जनाएको छ। उपभोक्ताको अधिकार हनन गर्ने र नियम विपरीत व्यापार गर्ने फर्महरूलाई कानुनी कारवाही गरिने चेतावनी पनि विभागले दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*