वडा अध्यक्ष र व्यापारीका छोरा तीन लाख घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर

१९ श्रावण २०८२, सोमबार १५:४९

काठमाडौँ ।  रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादव सेवाग्राहीसँग घुस मागेको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

आयोगका अनुसार वडा अध्यक्ष यादवले आफ्नो वडामा सम्पन्न भएका विभिन्न योजनाहरूको भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी तीन लाख रुपैयाँ घुस माग गरेका थिए। उनले सो रकम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेमार्फत लिन लगाएका थिए।

सेवाग्राहीबाट मागिएको उक्त घुस रकम विपिन कुमार पाण्डेले लिइसकेको अवस्थामा आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले यादव र पाण्डेलाई रंगेहात पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा यादवले मर्चवारी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत सञ्चालन भएका आर्थिक वर्ष २०८१/८२ का सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण, पुर्निकोट गाउँभित्र सडक पी.सी.सी. ढलान तथा सुरहवाँ गाउँभित्र सडक पी.सी.सी. ढलान योजनाहरूको काम सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्न घुस मागेको पुष्टि भएको आयोगको भनाइ छ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो तीन लाख रुपैयाँ कायम गरी कैद सजाय र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ।

त्यसैगरी, गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेले वडा अध्यक्ष यादवको निर्देशनमा सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै उनलाई मतियारको भूमिकामा भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको अभियोगमा ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय माग गर्दै आयोगले आज विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*