शारडा ग्रुपको प्रिमियर वायरको व्यापार साढे १ अर्बले घट्यो, ३ अर्ब ४६ करोडको कर्जाका लागि रेटिङ

काठमाडौँ । शारडा ग्रुप अन्तर्गतका प्रिमियर वायर प्रालिको व्यापार निरन्तर खुम्चिदै गएको छ । उत्पादन र बिक्री घट्दै गएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय गिरावट आएको हो ।
मोरङको बुढीगंगा–३ मा कारखाना सञ्चालन गर्दै आएको यो उद्योगले दुई दशकभन्दा बढी समयदेखि देशको तार तथा केबल बजारमा आफ्नो पहिचान बनाएको थियो तर पछिल्ला वर्षमा त्यो पहिचान धमिलो हुँदै गएको छ । वर्षदिनको अवधिमा कम्पनीको व्यापार १ अर्ब ५३ करोड ३० लाख अर्थात् २९.३७ प्रतिशतले घटेको छ ।
कम्पनीले सन् २०२४ मा ५ अर्ब २१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ३ अर्ब ६८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२३ मा ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
व्यापार घट्दा कम्पनीको सञ्चालन नाफामा केही सुधार देखिए पनि त्यसले समग्र आर्थिक अवस्थालाई टिकाइ राख्न सकेको छैन । सन् २०२१ मा सञ्चालन नाफा आम्दानीको ५.५ प्रतिशत मात्र थियो, जुन २०२५ मा बढेर ७ प्रतिशत पुगेको छ । तर, यो सुधार पनि आम्दानी घटेका कारण सीमित नतिजा दिने मात्र देखिन्छ । लागत घटाए पनि बिक्री घट्दा कम्पनीको नगद प्रवाह कमजोर बनेको देखिएको छ ।
ऋण अनुपातका दृष्टिले प्रिमियर वायरले केही सुधार गरेको भए पनि त्यो सुधार स्थायी हुन सकेको छैन । सन् २०२१ मा कुल ऋण र स्व–पूँजीको अनुपात ३.३ गुणा थियो । २०२५ मा यो घटेर १.६ गुणा पुगेको छ, तर व्यापारिक आम्दानी घट्दा पूँजी अनुपातले दीर्घकालीन स्थायित्व दिन नसक्ने अवस्था देखिएको छ । कम्पनीले ऋण घटाए पनि आम्दानी घट्दा सञ्चालनमा आएको दबाबले आर्थिक सन्तुलन कमजोर बनाएको छ ।
त्यस्तै, ऋण र सञ्चालन नाफाको अनुपात हेर्दा कम्पनीको ऋण तिर्ने क्षमता कमजोर हुँदै गएको देखिन्छ । २०२१ मा यो अनुपात ८.४ गुणा थियो, २०२३ मा घटेर ४.७ गुणा पुगेको थियो, तर २०२५ मा पुनः बढ्दै ५.७ गुणा पुगेको छ। यो तथ्यले देखाउँछ कि नाफा घट्दा ऋण तिर्ने दबाब बढिरहेको छ । सञ्चालनबाट पर्याप्त आम्दानी नहुँदा कम्पनीले ऋण भुक्तानीमा कठिनाइ भोग्नुपर्ने सम्भावना बढेको छ ।
ऋण सेवा क्षमताको सूचक पनि अस्थिर रहँदै आएको छ। सन् २०२१ मा २.८ गुणा रहेको यो अनुपात २०२२ मा घटेर १.२ गुणामा झ¥यो । त्यसपछि केही सुधार हुँदै २०२५ मा २.३ गुणामा पुगे पनि समग्र रूपमा यो सूचक कम्पनीको वित्तीय तनाव पूर्ण रूपमा हटेको जनाउँदैन ।
यी सबै सूचकहरूले प्रिमियर वायरको आर्थिक अवस्थालाई सुधारभन्दा बढी अस्थिरता र गिरावटतर्फ उन्मुख देखाउँछन् । ऋण घट्नु र ब्याज तिर्ने क्षमतामा आंशिक सुधार देखिए पनि बिक्री घट्नु, आम्दानी घट्नु र पूँजीको उपयोग घट्नु कम्पनीका लागि दीर्घकालीन चुनौती बनेको छ ।
सन् २००० मा स्थापना भएको कम्पनीले जिआइ तार, ग्याबियन बक्स, एसीएसआर कन्डक्टर, पीभीसी केबल तथा अन्य इस्पात र तामाका तार, कन्डक्टर र केबल उत्पादन गर्दै आएको छ । प्रारम्भिक चरणमा बजारमा यसको उत्पादनको माग उच्च रहेको थियो । तर, हाल आयातित उत्पादनहरूको बढ्दो प्रभाव, मूल्य प्रतिस्पर्धा र बजारमा घट्दो मागका कारण यसको बिक्रीमा तीव्र गिरावट आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६९ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।













