प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

काठमाडौं । नेपालको प्राथमिक बजार विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानूनी व्यवस्था गर्ने गरी बजारका सम्बद्ध पक्षहरू९मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि० को सहभागिता रहने बोर्डबाट प्राथिमक बजार सुधार सहजीकरण कार्यदल गठन भएकोमा उक्त कार्यदलले तयार गरेको प्राथमिक पूँजी बजार सुधार नीति, २०८३ सार्वजनिक गरिएको छ।
नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउँदै उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम, हरित तथा दिगो विकास परियोजनाहरूका लागि दीर्घकालीन पूँजीको सहज उपलब्धता सुनिश्चित गर्नु तथा उच्चस्तरीय नियमन, सुशासन, पारदर्शिता र प्रविधिमा आधारित सार्वजनिक निष्काशन प्रणालीको विकास गर्ने गरी उक्त नीति तयार गरिएको छ। यस नीतिले नेपालको प्राथमिक पूँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको प्रमुख वित्तीय स्रोतका रूपमा स्थापित गर्ने, सार्वजनिक निष्काशन प्रक्रियालाई पूर्णतः पारदर्शी, डिजिटल तथा समयबद्ध बनाउने, वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली कार्यान्वयन गर्ने, योग्य संस्थागत लगानीकर्ता तथा एङ्कर लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने, सार्वजनिक निष्काशन पश्चात् प्राप्त पूँजीको प्रभावकारी उपयोग तथा अनुगमन प्रणाली विकास गर्ने, लगानीकर्ता संरक्षण तथा बजारप्रतिको विश्वास अभिवृद्धि गर्ने, प्रविधिमुखी नवप्रवर्तनमुखी तथा उच्च वृद्धि भएका उद्यमहरूको पूँजी बजारमा पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सक्षम नियामकीय वातावरण निर्माण गर्ने र दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमिक रूपमा संस्थागत गरी नेपालको प्राथमिक पूँजी बजारलाई दक्षिण एशियाको प्रतिस्पर्धी तथा विश्वसनीय पूँजी बजार मध्ये एकको रूपमा विकास गर्ने रणनीतिक लक्ष्यहरू लिएको छ।
अन्त्यमा, बोर्डबाट सार्वजनिक गरिएको यस नीतिको कार्यान्वयन सँगै नेपालको प्राथमिक पूँजी बजार पारदर्शी,विश्वसनीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भई राष्ट्रिय आर्थिक समृद्धिका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनको प्रमुख आधार निर्माण हुनेमा बोर्डको विश्वास रहेको छ।











