बीमा कम्पनीले एक वर्षमा गरे १ खर्ब रुपैयाँ दाबी भुक्तानी, अझै ५२ अर्ब रुपैयाँ दिन बाँकी

२२ श्रावण २०८३, शुक्रबार १२:३१

काठमाडौँ । बीमा कम्पनीहरुले वर्षदिनमा एक खर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट एक खर्ब एक अर्ब ३६ करोड १३ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका हुन् ।

बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा १३.३० प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीबाट ४ लाख १९ हजार १३६ वटा दाबीको ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुले ३ लाख ९१ हजार १३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्षमा कम्पनीहरुले १ लाख ५० हजार ६३० वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख भुक्तानी गरेका थिए ।

अझै ५२ अर्ब दाबी दिन बाँकी

गत आर्थिक वर्षमा परेका दाबीको बीमा कम्पनीहरुले अझै ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको देखिएको छ । बीमा कम्पनीहरुले अझै २ लाख ५० हजार ३८१ दाबी भुक्तानी गर्ने बाँकी रहेको हो ।

यसअवधिसम्ममा जीवन बीमा कम्पनीहरुले १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ८८ हजार ९८१ दाबी संख्याको ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुबाट १ लाख ६ हजार २३७ दाबी संख्या बापतको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा ९६ हजार ३८१ वटा दाबीको २५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*