त्रिशक्ति सेक्युरिटिजमा खुल्यो मार्जिन कारोबार सुविधा

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले आफ्ना ग्राहकका लागि मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त त्रिशक्ति सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७५ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार सेवा सुरु गरेको हो ।
मार्जिन कारोबार सुविधा सञ्चालनमा आएसँगै योग्य ग्राहकले तोकिएको मापदण्ड र सीमाभित्र रहेर मार्जिनमा सेयर कारोबार गर्न सक्नेछन् । यसका लागि लगानीकर्ताले कम्पनीले निर्धारण गरेका आवश्यक सर्त तथा प्रक्रिया पूरा गर्नुपर्नेछ ।
मार्जिन कारोबार सुविधा लिन इच्छुक ग्राहकले काठमाडौंको पुतलीसडकस्थित मुख्य कार्यालय तथा कम्पनीका विभिन्न शाखामार्फत सेवा लिन सक्नेछन् । त्रिशक्ति सेक्युरिटिजका पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुरमा शाखा कार्यालय सञ्चालनमा छन् ।
कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले सम्बन्धित शाखामा सम्पर्क गरी मार्जिन कारोबार खाता खोल्न सक्नेछन् । मार्जिन कारोबारअन्तर्गत ग्राहकले पाउने ऋणको सीमा, लागू हुने ब्याजदर, मार्जिन सुविधाका लागि योग्य धितोपत्र तथा आवश्यक न्यूनतम मार्जिनसम्बन्धी विवरण कम्पनीबाट प्राप्त गर्न सकिनेछ ।











