दुईदेखि २१ संस्थासम्म गाभिएर बनेका १५ वाणिज्य बैंक, कुनले कसलाई समेट्यो ?

काठमाडौँ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा भएको गाभ्ने र प्राप्ति गर्ने प्रक्रियाले पछिल्लो डेढ दशकमा बैंकहरूको आकार र स्वरूप नै बदलिदिएको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार विभिन्न चरणमा बैंक, विकास बैंक र वित्त कम्पनीहरू एकअर्कामा गाभिँदै तथा प्राप्ति हुँदै जाँदा अहिलेका ठूला बैंकहरूको संरचना बनेको हो। एउटै बैंकभित्र कति संस्था समेटिए भन्ने हिसाब गर्दा सबैभन्दा धेरै संस्था गाभिएको बैंकमा ग्लोबल आइएमई बैंक अगाडि देखिन्छ भने त्यसपछि प्रभु बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायत छन्।
ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै संस्था समेट्दै आफ्नो वर्तमान संरचना बनाएको देखिन्छ। ग्लोबल बैंकबाट सुरु भएको यो यात्रामा आइएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, कमर्ज एन्ड ट्रस्ट बैंक, सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, ट्रिभेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, जनाता बैंक नेपाल, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक, नेपाल आवास फाइनान्स, रिलायबल फाइनान्स, सुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर डेभलपमेन्ट बैंक, ह्याथवे फाइनान्स, लुम्बिनी बैंक, नवदुर्गा फाइनान्स र बैंक अफ काठमाडौंजस्ता संस्था समेटिएका छन्। यस हिसाबले ग्लोबल आइएमई बैंकको वर्तमान संरचनामा आफूबाहेक २१ वटा संस्था जोडिएका छन्।
प्रभु बैंक पनि धेरै संस्था गाभेर बनेको बैंकमध्ये अग्रपंक्तिमा पर्छ। प्रभु फाइनान्सबाट सुरु भएको यसको एकीकरण यात्रामा समृद्धि विकास बैंक, वैभव फाइनान्स, किस्ट बैंक, गौरीशंकर विकास बैंक, जेनिथ फाइनान्स, ग्रान्ड बैंक नेपाल, अर्निको विकास बैंक, सूर्य विकास बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक, सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, पाटन फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स समेटिएका छन्। यसरी प्रभु बैंकको संरचनामा आफूबाहेक १४ वटा संस्था जोडिएका छन्।
कुमारी बैंकले पनि लामो एकीकरण यात्रा पार गर्दै ठूलो वित्तीय संरचना बनाएको छ। काष्ठमण्डप डेभलपमेन्ट बैंक र शिखर फाइनान्सबाट अघि बढेको कुमारी बैंकमा महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, एनडिइपी डेभलपमेन्ट बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, युनियन फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, पूर्वाधार विकास बैंक, स्वस्तिक मर्चेन्ट फाइनान्स, अन्नपूर्ण डेभलपमेन्ट बैंक, सूर्यदर्शन फाइनान्स, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक, एपी फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकसमेत समेटिएका छन्। यसरी कुमारी बैंकले आफूबाहेक २० वटा संस्था आफ्नो संरचनामा समेटेको देखिन्छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको यात्रा पनि धेरै संस्थाको एकीकरणबाट बनेको छ। विश्व विकास बैंक, फेवा फाइनान्स, गण्डकी विकास बैंक, मेगा बैंक नेपाल, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, पर्यटन विकास बैंक, मातृभूमि विकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एसे डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स यस संरचनामा जोडिएका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफूबाहेक ११ वटा संस्था समेटेको देखिन्छ।

लक्ष्मी सनराइज बैंक पनि विभिन्न संस्थाको एकीकरणबाट बनेको अर्को ठूलो बैंक हो। नारायणी फाइनान्स, नेसनल फाइनान्स, सनराइज बैंक, एनआइडीसी क्यापिटल मार्केट, दियालो विकास बैंक, प्रोफेसनल डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक र हिसेफ फाइनान्सलाई जोड्दा लक्ष्मी सनराइज बैंकको वर्तमान संरचना बनेको हो।
हिमालयन बैंक आधा दर्जनभन्दा बढीसँग मर्जरमा गएको देखिएको छ । पशुपति डेभलपमेन्ट बैंक, उद्यम विकास बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, सिभिल बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्ससँगको एकीकरण तथा प्राप्ति प्रक्रियाबाट यसको संरचना विस्तार भएको देखिन्छ। हिमालयन बैंकले आफूबाहेक सातवटा संस्था समेटेको छ।
नबिल बैंकले पनि नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्सलाई आफ्नो संरचनामा समेटेको छ। यस आधारमा नबिल बैंकले आफूबाहेक चारवटा संस्था जोडेको देखिन्छ।
एनएमबी बैंकको संरचना निर्माणमा प्रुडेन्सियल फाइनान्स, गोर्खा फाइनान्स, पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, सिटी डेभलपमेन्ट बैंक, ओम फाइनान्स, मनास्लु डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंक जोडिएका छन्। यसरी एनएमबी बैंकले आफूबाहेक नौवटा संस्था समेटेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलको संरचनामा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स जोडिएका छन्। यस हिसाबले सिटिजन्स बैंकले आफूबाहेक आठवटा संस्था आफ्नो संरचनामा समेटेको देखिन्छ।
प्राइम कमर्सियल बैंकले पनि बिराटलक्ष्मी विकास बैंक, खाँदबारी डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई समेटेको छ। यसरी प्राइम कमर्सियल बैंकले आफूबाहेक सातवटा संस्था गाभेको तथा प्राप्ति गरेको देखिन्छ।
एनआइसी एसिया बैंकको संरचना भने एनआइसी बैंक र बैंक अफ एसिया नेपालबीचको एकीकरणबाट बनेको हो। यसमा आफूबाहेक एउटा बैंक समेटिएको छ। सिद्धार्थ बैंकले बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्सलाई समेटेर आफ्नो संरचना विस्तार गरेको छ। यस आधारमा सिद्धार्थ बैंकमा आफूबाहेक दुईवटा संस्था जोडिएका छन्।
सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंकलाई आफ्नो संरचनामा समेटेको छ। माछापुच्छ्रे बैंकले स्ट्यान्डर्ड फाइनान्सलाई गाभेर आफ्नो संरचना विस्तार गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय औद्योगिक विकास बैंकलाई आफ्नो संरचनामा समेटेको विवरण छ।









