पूँजी बजार सुधार्न सरकारको ‘मास्टर प्लान’, १०-१२ बुँदे विशेष कार्यक्रम ल्याउने घोषणा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गरे। विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब अवस्थालाई थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने बताए।
‘विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिग्रन दिइने छैन,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बढाउन र बजारलाई चलायमान बनाउन सरकारले आवश्यक सुधारका ठोस कार्यक्रमहरू अघि बढाउँदै छ।’
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा थुप्रिएको पूँजी घरजग्गा र शेयर बजारमा मात्र केन्द्रित हुनुको सट्टा उत्पादनमूलक क्षेत्रमा परिचालन हुन सकेको भए मुलुकको अर्थतन्त्र अझ सुदृढ हुने धारणा राखे। निष्क्रिय पूँजीलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा आकर्षित गर्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उनले बताए।
उनले सहकारी क्षेत्रको संकटले स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर पारेको बताए। सहकारी क्षेत्रको समस्या समाधान नभएसम्म स्थानीय आर्थिक गतिविधि सहज रूपमा अघि बढ्न नसक्ने उनको भनाइ थियो।
घरजग्गा कारोबारमा देखिएको मन्दी र पूँजी बजारको सुस्ततालाई सम्बोधन गर्दै समग्र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सरकारले नीतिगत पहल गरिरहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि सरकार दृढ रहेको बताए।









