सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो ।
मन्त्रालयका अनुसार बाढीबाट भएको क्षतिको बीमा दाबी मूल्याङ्कनलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरलीकृत प्रक्रियाबाट सर्भेयर खटाउन सकिने व्यवस्था गरिने भएको छ ।
त्यसैगरी, बाढीबाट भएको क्षतिको बीमा दाबी गर्ने बीमितलाई प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
पुनर्बीमकले समेत बीमकलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित बीमितलाई दाबी भुक्तानी प्रक्रिया सरल, सहज र प्रभावकारी बनाउन बीमकले संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारको यो व्यवस्थाले रसुवा बाढीबाट प्रभावित बीमितलाई पूर्ण दाबी मूल्याङ्कन तथा भुक्तानी प्रक्रिया पूरा हुनुअघि नै क्षतिको प्रारम्भिक मूल्याङ्कनका आधारमा राहतस्वरूप रकम प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।









