सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

काठमाडौँ । चितवनमा सडकमा गुडिरहेको विद्युतीय सवारीसाधन (ईभी) मा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको घटनाले विद्युतीय गाडीको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गर्दै आएको आयोन ब्रान्डको ईभी कार शुक्रबार बिहान चलिरहेको अवस्थामै आगलागीमा परेको हो ।
शुक्रबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–१२ स्थित बसन्तचोकनजिक पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको आयोन ईभीमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीपछि गाडीभित्र रहेका चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ पाल्पोटका करिब ५६ वर्षीय अमर पराजुली रहेका छन् । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना पुरुष जलेर मृत अवस्थामा फेला परेका थिए । आगलागीका कारण गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
बीमापोष्टसँग कुरा गर्दै प्रहरी उपरीक्षक पौडेलले सीसीटीभी फुटेजमा पराजुलीले सिटबेल्ट लगाएर सामान्य गतिमा गाडी चलाइरहेको देखिन्छ । तर, घटनास्थल नजिक पुगेपछि एक्कासी गाडीमा आगलागी भएको र चालक आत्तिएको देखिएको उनले बताएका छन् ।
‘उहाँ त्यहाँ पुग्नुअघिको सडकको सीसीटीभी हेर्दा मज्जाले सिटबेल्ट लगाएर आरामसँग आइरहेको देखिएको छ,’ पौडेलले भने, ‘दुर्घटनाको ठाउँनजिक आएपछि एक्कासी गाडीमा आगलागी भएको छ । उहाँ आत्तिएको देखिएको छ । जसमा गाडीकै केही कमजोरी भएको देखिएको छ ।’

घटनाको सबैभन्दा गम्भीर पक्ष भने आगलागी भएपछि चालकले गाडीबाट बाहिर निस्कन खोज्दा ढोका नखुलेको विषय हो । स्थानिय प्रत्यक्षदर्शीका अनुसार चालकले ढोका खोल्ने प्रयास गरेपनि खुल्न नसकेको दाबी गरेका छन् । प्रहरीले चालक आत्तिएको भनेर दिएको अभिब्यक्तिले ढोका खुल्न नसकेको कुरालाई थप पुष्टि गरेको छ ।
गाडीमा आगो लागिसकेको अवस्थामा पनि केही समयसम्म सडकमा गाडी गुडिरहेको देखिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार आगो लागेपछि चालकले आत्तिँदै गाडीको ढोका खोल्ने प्रयास गरेका थिए । तर ढोका नखुलेपछि उनी बाहिर निस्कन नसकेको र गाडी थप अनियन्त्रित भएको देखिएको थियो ।

सामान्य अवस्थामा सवारीसाधनमा आगलागी हुनु आफैँमा गम्भीर सुरक्षा चुनौती हो । तर चलिरहेको गाडीमा अचानक आगो लाग्नु, चालकले त्यसबाट बाहिर निस्कन नसक्नु र अन्ततः ज्यानै गुमाउनुको घटनाले आयोन ब्रान्डको विद्युतीय प्रणाली, ब्याट्री, वायरिङ, चार्जिङ प्रणाली, ढोका तथा आपत्कालीन सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ ।
ब्याट्रीमा समस्या आएको हो वा विद्युतीय तार तथा अन्य कुनै कम्पोनेन्टमा खराबी भएर आगलागी भएको हो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।
आयोन ब्रान्डका विद्युतीय सवारी नेपालमा सीजी मोटर्समार्फत बिक्री–वितरण हुँदै आएका छन् । नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेको समयमा नयाँ पुस्ताका ईभीप्रति उपभोक्ताको आकर्षण पनि बढ्दो छ । यस्तो अवस्थामा सडकमा गुडिरहेको सवारीमा अचानक आगलागी हुँदा आयोन ब्रान्डका उपभोक्ताहरु त्रसित भएका छन् ।

घटनाबारे सीजी मोटर्सकी उरिषा बज्राचार्यसँग सम्पर्क गर्दा कम्पनीलाई घटनाको जानकारी रहेको बताइन् । तर आगलागी के कारणले भएको हो भन्ने विषयमा माथिल्लो तहबाट आधिकारिक जानकारी प्राप्त नभएकाले तत्काल यसबारे प्रतिक्रिया दिन नमिल्ने तर्क गरिन् ।









