काठमाडौंको ‘लाइफलाइन’ बन्द, दशैं-तिहारको मुखमा आपूर्ति संकटको खतरा

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न भागमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध हुन थालेपछि संघीय राजधानी काठमाडौंको जनजीवन प्रभावित बन्न थालेको छ। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने प्रमुख सडकमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायातका साधन काठमाडौंमै रोकिएका छन् भने दशैं–तिहारको मुखमा राजधानीको आपूर्ति व्यवस्थामा समेत दबाब पर्न सक्ने देखिएको छ।
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा परेको लगातारको वर्षाका कारण काठमाडौं जोड्ने प्रमुख राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएका छन्। राजधानीसँग देशका पूर्व, पश्चिम र दक्षिणी क्षेत्र जोड्ने सडकमार्गमा समस्या आएपछि लामो दूरीका सार्वजनिक सवारीसाधनको आवागमन प्रभावित भएको हो।
विशेषगरी पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। राजमार्ग बन्द भएपछि देशका विभिन्न जिल्लाबाट काठमाडौंका लागि छुटेका तथा काठमाडौंमा रहेका लामो दूरीका बसहरू गन्तव्यतर्फ जान नसकेर रोकिएका छन्।
बिहीबार साँझदेखि काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। काठमाडौं जोड्ने सडकमा बाढी तथा पहिरोका कारण आवागमन प्रभावित भएपछि यात्रुहरू समेत अलपत्र पर्ने अवस्था सिर्जना भएको छ।
राजमार्गमा आएको अवरोध केवल यात्रु आवागमनको समस्या मात्र होइन। काठमाडौंको आपूर्ति प्रणालीसमेत मुख्यतः बाहिरी जिल्लाबाट आउने सडक सञ्जालमै निर्भर रहेकाले राजमार्ग लामो समय अवरुद्ध भए त्यसको प्रत्यक्ष असर खाद्यान्न, तरकारी, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पर्न सक्ने देखिएको हो ।
त्यसमाथि दशैं–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौंमा उपभोग बढ्ने समय हो। यही समयमा राजधानी भित्रिने प्रमुख सडकमार्गहरू लगातार अवरुद्ध भइरहेमा बजारमा सामानको आपूर्ति घट्न सक्ने र त्यसको असर मूल्य तथा उपलब्धतामा पर्न सक्ने चिन्ता बढेको छ।










