बाढीले विद्युत् उत्पादनमा गम्भीर असर, करिब १ हजार मेगावाट उत्पादन अवरुद्ध

११ आश्विन २०८३, आईतवार १५:५९

काठमाडौं । न्यूनचापीय मनसुनका कारण देशभर परेको अविरल वर्षा र बाढीले विभिन्न प्रसारण लाइन तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा विद्युत् उत्पादन र आपूर्ति प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीमा आएको बाढी तथा अत्यधिक बहावका कारण गण्डकी प्रदेशका केही स्थानमा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् । जसका कारण विद्युत् आपूर्तिमा समेत केही असहज अवस्था सिर्जना भएको छ ।

बाढीका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने १३ वटा उत्पादन केन्द्रबाट करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका थप १४ वटा उत्पादन केन्द्रमा नदीको अत्यधिक बहावका कारण करिब ६३० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । यससँगै बाढी तथा अत्यधिक वर्षाका कारण विद्युत् प्रणालीमा समग्रमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको प्राधिकरणको भनाइ छ ।

विद्युत् उत्पादनमा आएको कमीका कारण आपूर्ति प्रणाली सन्तुलनमा राख्न केही उद्योगमा विद्युत् खपत घटाएर व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत् कम्पनीबाट प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् केन्द्रको स्विचयार्डमा कालीगण्डकी नदीले कटान गरी क्षति पुर्‍याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*