अफराइडर पठाओ दुर्घटना हुँदा १० लाखको बीमा सुविधाबाट बञ्चित

३१ जेष्ठ २०७९, मंगलवार १७:३३

काठमाडौं । अनलाइन राइड शेयरिङ एप पठाओमा यात्रा गरेकी एक महिलाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका ५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षिया सम्झना राइको आइतबार काठमाडौंको कोटेश्वरमा मिनि ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी राईको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनि ट्रकले सोही तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार राति १० बजे ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेको मोटरसाइकल पठाओ राइडरको थियो । सम्झना सोही पठाओ राइडरको मोटरसाइकलमा जाने क्रममा सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सम्झनाले पठाओ रिक्वेस्ट पठाएकी र यात्रा सुरु हुनुअघि नै उनले आफैं राइड क्यान्सिल गरिएको देखिएको पठाओकी प्रवक्ता सुरक्षा हमालले बताइन् । उनका अनुसार पठाओबाट अफलाइन यात्रा हुँदा मृतक राईको परिवार बीमा सुविधाबाट बञ्चित भएका छन् ।

हाल पठाओको यात्राका क्रममा मृत्यु वा अपांगता हुन पुगेको खण्डमा एभरेष्ट इन्स्योरेन्समा १० लाख रुपैयाँ सम्मको बीमा दाबी गर्न सकिने व्यवस्था रहेको छ । पठाओ राइडरहरुको मागलाई सम्बोधन गर्दै कम्पनीले गत पुषदेखि लागू हुनेगरी एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा पठाओले राइडर र सेवाग्राही दुवैका लागि दुर्घटना बीमा ल्याएको थियो ।

अफलाइन राइड भएका कारण उक्त दुर्घटनाको प्रमाण आफुहरुसँग नभएको हमाल बताउँछिन् । उनका अनुसार सो कारण राइडर र यात्रु दुवैले बीमा सुविधा पाउने छैनन् ।

शेयरराइडिङ प्लेटफर्महरुमा पछिल्लो समय विकृति फैलिरहेको छ । नेपालमा संचालित पठाओ, इन्ड्राइभर, साहारा एपहरुको प्रयोगकर्ता र राइडरहरुको संख्या बढ्दै जाँदा विकृति पनि उत्तिकै बढ्दै गइरहेको छ ।

पछिल्लो समय पठाओ, इन्ड्राइभर जस्ता राइड शेयरिङ प्लेटफर्ममा राइडरहरु अफलाइनमा मात्रै बढी हिड्ने गरेको पाइन्छ । राइड शेयरिङ एप प्रयोगकर्ताहरुले आफुले एपमार्फत अनलाइन सर्च गर्दा समेत राइडरहरुले रिक्वेस्ट एसेप्ट नगर्ने गुनासो गर्दै आइरहेका छन् । अनलाइन बाटै रिक्वेस्ट पठाएर यात्रा गर्नुपूर्व राइडरहरुले सेवाग्राहीलाई रिक्वेस्ट क्यान्सल गर्न लगाउने गर्ने गरेको पाइन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*