बैंकमा तरलता समस्या नयाँ आर्थिक वर्षपछि पनि उस्तै ! घरजग्गा र शेयर लगानीकर्ताहरुलाई तनाव थपिँदै

१५ असार २०७९, बुधबार २१:०६

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा नयाँ आर्थिक वर्षपछि पनि तरलता समस्या उस्तै हुने लगभग निश्चित देखिएपछि बैंकरहरु तनावमा पर्न थालेका छन् । पछिल्लो अवस्थाले सुधार हुनुको साटो अवस्था झनै भयावहतर्फ जाने संकेत गरेपछि बैंकरहरु तनावमा पर्न थालेको एक बैंकका सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टलाई जानकारी दिए ।

सरकारले आन्तरिक रुपमा बैंकहरुबाट हालसम्मकै महंगो ब्याजदरमा ऋण उठाउन थालेपछि तरलता समस्या तत्काल हल नहुने बरु झनै भयावह बन्दै जाने संकेतहरु देखिएको छ । पछिल्लो समय सरकारले ११ प्रतिशत ब्याजदरमा आन्तरिक ऋण उठाइरहेको छ । चर्को ब्याजदरमा आन्तरिक ऋण उठाउनुको कारण बजेट कार्यान्वयनको लागि हो । बजेटमा अपुग रकम आन्तरिक ऋणबाट पूरा गर्नुपर्ने र यसअघि बैंकहरुको अवस्था धरासायी भएकोले ऋण नउठाई चुप लागेर बसेको सरकारले अहिले अन्तिम आवरमा महंगो ब्याजदरमा ऋण उठाइरहेको छ ।

देशको आर्थिक अवस्थामा खासै सुधार नहुने देखिएपछि बैंकहरुले लगानी गर्न नसक्ने भन्दै चिन्तित देखिएका छन् । बैंकमा तरलता अवस्था सहज नहुँदासम्म घरजग्गा र शेयर बजार उकालो लाग्न सक्नेछैन । त्यसैले बैंकिङ क्षेत्रमा के भइरहेको छ भनेर आम जनता चासोपूर्वक अध्ययन गरिरहेका छन् ।

राष्ट्र बैंकले चालु आवको असार मसान्तसम्ममा सिडी रेसियो ९०ः१० प्रतिशत हुनैपर्ने व्यवस्था लागू गरिसकेको छ । बैंकहरुले उक्त व्यवस्था लागू गर्न सक्दैनौं समय थप गर्नुपर्दछ भनिरहेका छन् । यसले बैंकिङ क्षेत्रमा अराजकता बढेको संकेत समेत गरेको छ । नियामक निकायले विगतमा छाडा छोडेकोमा अहिले नियमन कठिन बन्दै गइरहेको देखिएको छ । छ महिनाअघि देखि ९० प्रतिशत सिडी रेसियो कायम गर्न निर्देशन दिँदा समेत नसक्न अवस्थामा पुगेको देखिएपछि आगामी नयाँ आर्थिक वर्षमा समेत तरलता समस्या उस्तै रहने देखिएबाट घरजग्गा, शेयर बजार, आयात निर्यात व्यापारमा समेत यसले प्रत्यक्ष असर पार्नेछ । तरलता अभावको कारण सरकारले बिलासिताका बस्तुहरु आयातमा रोक लगाउँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*