जहाज दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए।
‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुस्ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उनले बताए। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०ः ५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो।










