एमालेसँगको गठबन्धन अघि बढाउने प्रचण्डको निर्णय, पाँच घण्टा छलफलपछि मन्त्रिपरिषद विस्तार हुँदै

२ माघ २०७९, सोमबार १७:०२

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अन्ततः एमालेसँगै सत्ता गठबन्धन अघि बढाउने निर्णय गरेका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा भएको पाँच घण्टा लामो वान टु वान छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी अघि बढाएका छन् ।

यही पुस २६ गते विश्वासको मत लिने क्रममा कांग्रेसको समेत मत लिएपछि प्रचण्डमाथि उत्तरी छिमेकी राष्ट्र बेईजिङ सशंकित बन्न पुगेको थियो । सो तथ्य बाहिरिए लगत्तै प्रचण्डले पछिल्लो २४ घण्टामा तीन वटा महत्वपूर्ण भेटवार्ता सम्पन्न गरेर आजै मन्त्रिपरिषद विस्तारको तयारी गरिएको हो । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच आज पाँच घण्टा भन्दा लामो छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार राष्ट्रपति र सभामुखका विषयमा पनि प्याकेजमा सहमति भएको छ । जस अनुसार अब कांग्रेसले दुवै महत्वपूर्ण पद पाउने छैन ।

काठमाडौंस्थित कुटनीतिक क्षेत्रका जानकारहरुका अनुसार प्रचण्ड पछिल्लो पटक कांग्रेसलाई सभामुख र राष्ट्रपति दुई मध्ये एक पद दिने पक्षमा थिए । तर, पछिल्लो पटक विकासित भएको घटनाक्रम अनुसार अब प्रधानमन्त्री प्रचण्ड सभामुख र राष्ट्रपति दुवै पद सत्ता गठबन्धनलाई दिन तयार देखिएका छन् ।

मौजुदा मन्त्रिपरिषद विस्तारको लागि समेत सहमति भएको छ । जस अनुसार एमालेले आठ वटा मन्त्रालय पाउनेछ भने राष्ट्रिय स्वतन्त्र पार्टीले चार र राप्रपाले तथा राजपाले दुई–दुई वटा मन्त्रालय पाउने छन् । त्यस्तै नागरिक उन्मुक्ती, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले एक एक वटा मन्त्रालय पाउनेछन् । त्यस्तै माओवादीको भागमा बढिमा छ वटा अन्यथा पाँच वटा मन्त्रालय पाउने गरी सहमति भएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार आजै सत्ता गठबन्धन दलको बैठक बसेर यस सम्बन्धमा टुंगोमा पुग्ने निर्णय हुनेछ । त्यस्तै, छिट्टै सभामुखको निर्वाचन गरेर उक्त विषयलाई समेत टुंग्याइनेछ ।

उता, कांग्रेसभित्र प्रचण्डलाई मतदान गरेर संसदलाई प्रमुख प्रतिपक्ष दल विहिन बनाएर संसदलाई अपाङ्ग बनाएको भन्दै सभापति शेर बहादुर देउवामाथि आरोप लगाउन सुरु भएको छ । प्रचण्डलाई विश्वासको मत दिइसकेकोले अब प्रतिपक्षमा बस्न नमिल्ने भन्दै कांग्रेसका सांसदहरुले पार्टी सभापति देउवाको आलोचना सुरु गरेका छन् ।

उता, पार्टी सभापतिकी पत्नी आरजु देउवा छिट्टै भारत जाने भएकी छिन् । विश्वस्त स्रोतका अनुसार नेपाल आयल निगममा गरिएको अर्बौ घोटाला बापतको कमिशन बुझ्न आरजु दिल्ली जान लागेको बताइएको छ । यद्यपि उनको यसअघि गरिएको अप्रेशनको फलोअप समेत बाँकी नै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*