नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, करोडौंको हिसाब गोलमाल

४ माघ २०७९, बुधबार ०८:१५

काठमाडौं । हिजो दिनभर नेपाल टेलिकमको सिष्टममा समस्या देखियो । दिनभर टेलिफोन अबरुद्ध हुँदा चर्को आलोचना नेपाल टेलिकम माथि गरिएको थियो । नयाँ सञ्चार मन्त्रीले शपथ लिएकै दिन दिनभर टेलिफोन सेवा अबरुद्ध हुँदा सरकार देखि जनतासम्म के भएछ भनेर चासो दिइरहेका छन् ।

बीमापोष्टलाई प्राप्त एक विवरणमा नेपाल टेलिकमको बिलिङ सिष्टममा गम्भिर समस्या उत्पन्न भएपछि सोमबार देखि नै सिष्टममा समस्या उत्पन्न भएको थियो । प्रत्येक महिनाको १५ तारिखमा हुने पोष्टपेडको बिलिङपछि नेपाल टेलिकमको बिलिङ सिष्टममा समस्या आएको थियो । बिलिङ सिष्टममा समस्या आएपछि जनवरी १६ का दिन राति ८ बजेपछि पटक पटक टेलिकमको इन्टरनेट अबरुद्ध गरिएको थियो । तर, सो समस्या हल नभए पछि हिजो दिनभर नै टेलिकमको सिष्टममा समस्या आएको थियो ।

नेपाल टेलिकमको सर्भर लोकल हो । मोबाइल तथा ल्याण्डलाइन फोन आन्तरिक सर्भर मार्फत सञ्चालित हुन्छ । उक्त सर्भर पाँच पाँच मिनेटमा चल्दै बन्द हुँदै आएको थियो । सर्भर र बिलिङ प्रणालीको पोर्टमा समस्या हुँदा कनेक्टीभिटी चेक गर्न पटक पटक सर्भर बन्द गर्दै खुल्ला गर्दै गरिएको टेलिकम स्रोतले जनाएको छ । टेलिकमको सर्भर हिजो कम्तीमा पनि दुई दर्जनभन्दा बढि पटक रिस्टार्ट गरिएको थियो । टेलिकमकै एक स्रोतले भन्यो ‘बाह्य कुनै इलेमेन्टको प्रभाव पार्ने कुरा सत्य होइन सबै आन्तरिक हुन्छ सेन्ट्रल मनिटरिङ युनिटतिर कतै समस्या आएको हो ।’

स्रोतका अनुसार टेलिमकको बिलिङ प्रणालीमा समस्या आउँदा एकै दिन करोडौं रुपैयाँको हिसाब गोलमाल भएको छ । टेलिकमबाट दैनिक करोडौं रुपैयाँको कारोबार हुँदै आएको छ । टेलिकमले जथाभावी एपिआई मोडलमा डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई सर्भरमा पहुँच दिएका कारण पनि समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

टेलिकमको सर्भरमा समस्या आएपछि आधिकारिक वेभसाईट बन्द गरिएको छ । ह्याकरहरु वेभसाइटमा राखिएको कुनै पोर्टमार्फत सिष्टममा छिरेर ह्याक गरेको आशंकामा वेभसाइट बन्द गरिएको जनाइएको छ ।

त्यसो त नेपाल टेलिकमका कर्मचारीमाथि एनसेलसँग मिलेर कम्पनी डुबाउन भूमिका खेलेको आरोप हिजो दिनभर सामाजिक सञ्जालमा लगाइएको थियो । सामाजिक सञ्जालमा आरोप लगाइए जस्तो तथ्य सत्य नभए पनि कुनै कर्मचारीले सर्भर ह्याक गर्न अज्ञात रुपमा सहयोग गरेको हुनसक्ने कुरालाई भने नकार्न सकिदैन ।

उता, नेपाल टेलिकमका सिईओ सुनिलौ पौडेलले हिजोको समस्याबारे आज रिपोर्ट लिने तयारी भइरहेकोले विस्तृत विवरण प्राप्त गरेपछि मात्रै यथार्थ कुरा भन्न सक्ने बताए । उनले भने, ‘मैले पनि के भएको रहेछ भनेर बुझ्दैछु, आज रिपोर्ट लिएपछि सबै कुरा थाहा हुनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*